काठमाडौं- नेकपा एमालेको संसदीय बोर्डले एमालेका केही नेतालाई स्पष्टीकरण सोध्ने भएको छ। विशेषगरी पार्टीभित्र समानान्तर गतिविधि गरिरहेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षका केही नेतालाई स्पष्टीकरण सोधिने बुझिएको छ।
‘बोर्डको बैठकबाट पार्टीभित्र गुटगत प्रवृत्ति अथवा समूहगत प्रवृत्ति र व्यवहार रहिरहेमा त्यससम्बन्धी स्पष्टीकरण सोध्ने सम्बन्धमा निर्णय आजको संसदीय दलको बैठकबाट भएको छ,’ शनिबार बसेको संसदीय दलको बैठकपछि सांसद शेरबहादुर तामाङले भने।
शनिबारको बैठकमा प्रधानमन्त्रीले नै स्पष्टीकरणको प्रक्रिया अघि बढ्ने संकेत गरेका थिए। ‘प्रधानमन्त्री तथा संसदीय दलको नेता केपी शर्मा ओलीले केही संकेत गर्नुभएको छ। आजको बैठकबाट केही नेतालाई स्पष्टीकरणको दिशामा अगाडि बढिन्छ,’ तामाङले भने।
उनले क-कसलाई स्पष्टीकरण सोध्ने भन्नेचाहिँ स्पष्ट नभएको बताए। ‘सोध्नु नपर्ने पनि हुनसक्छ,’ उनले भने।