April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एउटा गुट मात्रको बैठकमा किन सहभागी हुने? : झलनाथ खनाल

2.1K

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्षले आज बोलाएको बैठकमा आफू सहभागी नहुने जानकारी दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीले एकलौटी बैठक राखेर गरिएका निर्णयहरू पार्टी विधान विपरित रहेको ठहर गर्दै आफू उक्त बैठकमा उपस्थित नहुने शनिबार एक विज्ञप्ति जारी गर्दै बताएका छन् ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलालाई राजनीतिक फैसलाको रूपमा लिएका पनि आफूहरू उक्त फैसला मान्ने भन्दै विधानअनुसार पार्टी चल्नुपर्ने बताए ।

‘एमाले पुन:स्थापित हुनुको अर्थ २०७५ जेठ ३ गते अघिको कमिटी क्रियाशील हुनु हो । तर अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते एकलौटी बैठक राखेर गरिएका निर्णयहरू पार्टी विधान विपरित छन् । यो निर्णय बदर नहुँदै फेरि संसदीय दलको बैठक राखेर बोर्ड गठन गरेको भन्ने सुन्नमा आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले)को दलको विधान नभएको अवस्थामा बोर्ड गठन भन्ने कुरा अबैधानिक छ।दलका सदस्यहरूलाई बैठकमा नबोलाउने, निषेध गर्ने, दुराग्रहप्रेरित ढङ्गले चल्ने, सदस्यहरूलाई उपस्थित नै नगराउने र फेरि बोर्डमा राखिएको भन्ने हल्ला पिटाउने कार्य गलत छ। हामीलाई आजसम्म पनि बोर्ड गठन गरिएको बारेमा आधिकारिक सूचना र जानकारी आएको छैन।’

Advertisement

उनले अहिलेसम्म आफूहरूलाई बैठक भनेर कुनै आधिकारिक खबर नआएको भन्दै यो बैठक पार्टीको नभएर एउटा गुट मात्रको भएको ठहर गरेका छन्।

‘आजको बैठकमा माननीय झलनाथ खनाल सहभागी नहुने कुरा सबैलाई जानकारी गराइन्छ। र गूटगत निर्णय पनि अमान्य हुने कुरा सबैमा सूचित गरिन्छ’, खनालका स्वकीय सचिव कृष्ण भट्टराईद्वारा जारि विज्ञप्तिमा भनिएको छ।

यसअघि शुक्रबार साँझ खनाल-नेपाल समूहको संयुक्त बैठकले पनि आज हुने सत्तारुढ नेकपा एमालेको संसदीय दल र केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरिसकेको थियो।