काठमाडाैं- राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले देशको निकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले अहिले देखिएका सबै अस्थिरताको जड ओली भएको भन्दै राजीनामा माग गरेकी हुन्।
‘संसद विघटन र नेकपा विभाजनमा प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवार छन्’ उनले भनिन् ‘प्रतिनिधि सभा पुन:स्थापना भएकोले देश र जनताको हित र स्थिरताका लागि उहाँले राजीनामा दिनुपर्छ र संयुक्त सरकार बनाउनु पर्छ।’ नत्र संसदमा अराजनीतिक सौदावाजीको खेल हुने उनको दाबी छ।
मृत्यु शय्यामा धकेलिएको प्रतिनिधि सभा ब्युँताएकोमा सर्वोच्च अदालतलाई धन्यवाद दिँदै उनले यो आन्दोलनमा एकीकृत भएर लागेकोमा खुशी लागेको बताइन्।