April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

काँग्रेस महाधिवेशन जेठ अन्तिममा वा भदौ पहिलो हप्ता हुने 

3.2K

काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही फागुन ५ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा दलको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसले पार्टीको १४औँ महाधिवेशन कार्यतालिका कोभिड–१९ को संक्रमणका कारण प्रभावित भए पनि अझै महाधिवेशनको नयाँ मिति तोकेको छैन । पार्टीले गएकाे असार २२ गते केन्द्रीय महाधिवेशन  यही फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो ।

फागुन ५ गतेको बैठकमा पनि महाधिवेशनको नयाँ मिति भने नतोकिने बताइएको छ । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार पार्टीले महाधिवेशनको नयाँ मिति तोक्न सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन मुद्दाको फैसला कुर्ने भएको छ । प्रतिनिधिसभा पुनःस्थापना भयो भने कांग्रेस महाधिवेशन आगामी जेठ मसान्तसम्म र पुनःस्थापना नभई निर्वाचनमा जानुपर्यो भने भदौ पहिलो हप्ता हुन सक्ने उहाँले बताउनुभयो ।

Advertisement

आगामी बैठकमा केन्द्रीय कार्यसमितिको समयावधि थप गरिने बताइएको छ । केन्द्रीय कार्यसमितिको समयावधि थप गर्दा कांग्रेस पार्टीको विधान अनुसार नभई नेपालको संविधानको सहारा लिनुपर्ने हुन्छ । बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने पार्टी कार्यालय स्रोतले जनाएको छ ।