September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

तामाङ र शेर्पा समुदायलाई आन्दोलित हुन प्रचण्ड–माधवको आग्रह

2.3K

काठमाडौं- नेकपा (प्रचण्ड-माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सरकारको पछिल्लो कदमले तामाङ र शेर्पा समुदायका अधिकार कुण्ठित पार्ने प्रयास भएको भन्दै आन्दोलित हुन आह्वान गरेका छन्।

शुक्रबार प्रचण्ड र नेपालले तामाङ समुदायको सोनाम ल्होसार र शेर्पाहरुको ग्याल्बो ल्होसारको शुभकामना दिँदै असंवैधानिक कदमको विरुद्ध आन्दोलित हुनुको विकल्प नरहेको बताएका छन्।

‘पछिल्लो घटनाका रुपमा सरकारको तर्फबाट उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास सुरु भएको छ। त्यसकारण हजारौं जनताको त्याग र समर्पणबाट प्राप्त अधिकार रक्षाका लागि प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम विरुद्ध आन्दोलनमा होमिनुको कुनै विकल्प छैन’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, तामाङ र शेर्पा समुदायसहित सम्पूर्ण नेपाली जनतामा यस पर्वको अवसरमा सु–स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामनाका गर्दै प्रतिगामी कदमविरुद्ध अन्तिम धक्काका लागि तयार रहन हार्दिक आह्वान गर्दछौं।’