September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

जसपा नेपालको विधान सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

पदम सुखी सम्बाहाम्फे
२०८० भाद्र १३

680

पाँचथर । जिल्लाको सदरमुकाम फेदेनमा जनता समाजवादी पार्टी नेपाल(जसपा)को विधान सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।जसपा जिल्ला कार्यसमिति पाँचथरको आयोजनामा भएको कार्यक्रमको सहजीकरण जसपाका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम र संघीय सांसद तथा जसपा केन्द्रीयकारिणी समिति सदस्य सुशीला श्रेष्ठले गरेका थिए ।

‘सङ्घियता, सुशासन, सामाजिक न्याय र समाजवाद’ भन्ने मुल नाराका साथ होटल अजिमामा भएको उक्त कार्यक्रममा पार्टीभित्र दिनानुदिन पहिचानको उभार आएको जसपा केन्द्रीय सदस्य प्रेमराज लावतीले बताए ।

यस्तै, जनता समाजवादी पार्टीको विधान सम्बन्धि विभिन्न धारा तथा नीतिको बारेमा माखिले व्याख्या गरेका थिए । संगठन विस्तारमा युवाको सहभागिता विशेष विधानले कडाइका साथ जोड दिएको पनि उनले बताए । उनले जसपा नेपालको अबको मुल मन्त्र समाजवादी लोकतन्त्र सिद्धान्त जस्ता विधानमा उल्लेख गरिएको पनि बताए ।

Advertisement

यसैगरी सुशीला श्रेष्ठले यसपटकको जसपाको विधानले पहिचान र भूगोलको शिर उच्च बनाउन निर्माण भइसकेको बताइन्। प्रदेश नम्बर १ को पुनः नामाङ्कनको विषयमा जसपा सधैं आन्दोलनको वकालत गरिरहेको बताइन् । शान्तिपूर्ण आन्दोलन पनि डरलाग्दो हुनसक्ने उनको भनाइ थियो । नेकपा एमालेले प्रदेश १ को नाम कोशी राखेर लिम्बुवान किरात अरिङगालको गोलोमा हात हालेको उनको भनाइ थियो ।

जसपा जिल्लाकार्य समितिका उपाध्यक्ष भरत राई सह-सचीव सुवास तुम्बापो, लिल्डाका दिलेन्द्र कुरुम्बाङ लगायत जसपा केन्द्रीय सदस्यहरु मिना राई, राजेन्द्र कुमार जबेगु, मचिन्द्र बेघा, राजेश इङ्वाले पार्टीको आन्तरिक समस्या र त्यसको समाधान बारे मन्तव्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता जसपा जिल्ला अध्यक्ष लक्षमण लावले गरेका थिए ।