पाँचथर । फिदिम साना सहरी बृहद खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा प्रकाश गुरुङ फराकिलो मत अन्तरसहित विजयी भएका छन् । गुरुङ ९ सय ३७ मतसहित विजयी भएका हुन् ।
आफ्ना प्रतिश्पर्धी सुर्यकुमार मगरलाई फराकिलो मत अन्तरले हराउदै उनी अध्यक्षमा निर्वाचित भएका हुन । मगरले ४ सय ६६ मत प्राप्त गरेका हुन ।
यस्तै उपाध्यक्षमा मिलन गिरी सचिवमा कमल बास्कोटा, सह–सचिवमा डने सेर्पा र कोषाध्यक्षमा दिपक बाँस्कोटा निवाचित भएका छन् ।
गुरुङ नेपाली काँग्रेसका तर्फबाट समितिको अध्यक्षमा उम्मेद्वार थिए । समितिको निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेर उम्मेद्वारी दर्ता गराएका थिए भने नेपाली काँग्रेस एक्लै चुनावी मैदानमा थियो । अन्य २ जना स्वतन्त्र उम्मेद्वार महेन्द्र नेम्बाङ र गण्ेश थेवे पनि चुनावमा अध्यक्ष पदमा प्रतिस्पर्धि थिए ।
२०६४ सालमा गठन भएको उपभोक्ता समितिले विभिन्न बहाना देखाँउदै १५ वर्षसम्म अधिवेशन गर्न सकेको थिएन । विभिन्न मितिमा २७ पटक अधिवेशन स्थगित गरिएको थियो ।
नागरिक समाज र उपभोक्ताको चर्को आलोचना पश्चात पछिल्लो पटक अधिवेशन भएको हो । फिदिम नगरपालिकाका १,२ र ४ नम्बर वडाका २ हजार ४ सय ९९ घर धुरीमा जडान भएका धारामार्फत १२ हजार बढी उपभोक्तालाई पानी पिलाउने जिम्मेवारी फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिको काँधमा छ ।