खोटाङ । नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता रवि प्रकाश राईले लोकतान्त्रिक विधिबाट चल्ने मुलुकको सरकार शासक बन्न नमिल्ने बताएका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउपालिकाका स्व. पदम बहादुर थापाको श्रद्धाञ्जली कार्यक्रमको अवसरमा उनले बिघटित प्रतिनिधि सभाको प्रसंग जोड्दै मुलुकको सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी ओली तानाशाह शैलीमा चल्न खोजेको संकेत गरे । उनले भने “लोकतान्त्रिक विधिबाट चलेको मुलुकका जनताले प्रत्यक्ष रुपमा अधिकारको उपभोग गर्न पाउनु पर्छ, नभए जनप्रतिनिधिहरुलाई घोक्रेठ्याक लगाएर भएपनि जनताका अभावहरुको परिपूर्ति गर्न लगाउनु पर्छ” ।
त्यस्तै फरक प्रसंगमा नेता राईले जाति, भूगोल र वर्गको आधारमा नभएर भावनात्मक एकतामा बाँधिएर नेपाली कांग्रेसले संगठन निर्माणलाई तिव्र बनाउनु पर्नेमा जोड दिए । उनले जनताले समृद्धि चाहेको भन्दै अब कांग्रेस स्थानीय स्तरमा जनतालाई अधिकार सम्पन्न बनाउने तर्फ लाग्ने बताए । “कसैको आलोचना, टिप्पणी, समर्थन र विरोध नभइ अब कांग्रेसले स्पष्ट पार्टीको दृष्टिकोण र एजेण्डाहरु तयार पारेर जनतासामु जानु पर्छ, उनले भने” ।
श्रद्धाञ्जली सभाको अवसरमा नेता राईले स्व. थापाको समाज र जनताप्रतिको योगदान अतुलनीय रहेकाले उनलाई सधै सम्मान गरिरहनु पर्ने बताए । नेपाली कांग्रेस मार्फत लामो समयसम्म जनताको सेवामा समर्पित रहेका स्व. थापाको गत मंसिर २६ गते निधन भएको थियो । उनी वि. स. २०४९ सालको स्थानीय चुनावमा वडा ७ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।