September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

वर्षातसँगै हिमपात: हवाई सेवा बन्द, जनजीवन प्रभावित

490

डोल्पा: हिमाली जिल्ला डोल्पामा भारी वर्षातसँगै हिमपात भएको छ । बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो । जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ, जिँउ, लिकु, पहाडा, बन्तडीलगायत बस्ती हिउँले सेताम्य भएको छ ।

त्यसैगरी तल्लो डोल्पामा पर्ने ठूलीभेरी नगरपालिका, काइके, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पर्ने अधिकांश क्षेत्र हिउँले ढाकिएका छन् । उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकामा पनि बाग्लो हिँउ जमेको छ । हिमपातका कारण उपल्लो डोल्पाको जनजीवन कष्टकर भएको शे–फोक्सुण्डो गाउँपालिकाका वडाध्यक्ष निमा लामाले बताए ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने भएकाले पनि उपल्लो डोल्लामा कात्तिक अन्तिमदेखि नै हिउँ पर्न शुरु भएको र आजसम्म दर्जन धेरै पटक हिमपात भइसकेको उहाँको भनाइ छ । हिँउदको समय कट्नै लाग्दा माघमा परेको हिमपातका कारण गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजङ्गल हिउँले सेताम्य र मनमोहक देखिएका छन् ।