September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

द्वन्द्वकालमा बेपत्ता भएका १६ जना भेटिए

555

काठमाडौं– २०५२ देखि ६२ सालसम्म चलेको सशस्त्र द्वन्द्वको समयमा बेपत्ता भएकामध्ये १६ जना १५ वर्षपछि फेला परेका छन्। बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगले गरेको अनुसन्धानमा उनीहरू जीवित रहेको पाइएको हो। बेपत्ता आयोगका अध्यक्ष युवराज सुवेदीले उनीहरूसँग आयोगले सम्पर्क गरेर कुराकानी गरेको र द्वन्द्वका कारण आफूहरू विस्थापित हुनुपरेको बताएको जानकारी दिए।

आयोगले यसलाई हालसम्म प्राप्त ठूलो उपलब्धी मानेको छ। ‘आयोगको अनुसन्धानका क्रममा १६  जना बेपत्ता नभएको पाइएको छ‚’ सुवेदीले भने‚ ‘यसरी बेपत्ता भएका भनिएका व्यक्तिमध्ये कोही मलेसिया, कोही भारतको बनारस, कोही कतार र कोही गाउँ फर्केर आयोगको सम्पर्कमा आएका छन्।’ आयोगले यो अवधीमा ७७ जिल्लामै पुगेर पीडितसँग छलफल गर्ने कार्य अगाडि बढाएको उनले बताए।

अहिले ७७ जिल्ला र स्थानीय  सरकारबाट बेपत्ताको बारेमा सूचना संकलन भइरहेको सुवेदीले बताए। आयोगले विस्तृत अनुसन्धानका लागि कालिकोट, रुकुमका दुई जिल्ला, बाजुरालगायतका स्थानमा पुगेरमा पीडितहरुसँग विस्तृत छलफल गरेको उनले जानकारी दिए। विस्तृत अनुसन्धानपछि परिचयपत्र वितरणको काम सुरु भएको छ।