November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपालमा ८८ हजार ७ जना फ्रन्टलाइनरले लगाए कोरोना खोप

2.4K

काठमाडौँ – नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान जारी छ । देशभर हालसम्म कोभिड–१९ रोकथाममा खटिएका फ्रन्टलाइनर ८८ हजार ७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

जसअन्तर्गत प्रदेश १ मा १२ हजार ७६३, प्रदेश २ मा ११ हजार ५७, बाग्मती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा ५ हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८७७ जनाले खोप लगाएका छन् ।

सरकारले फ्रन्टलाइनर ४ लाख ३० हजार जनालाई प्राथमिकताका साथ खोप लगाउने निर्णय गरेअनुरूप अब ३ लाख ४१ हजार ९९३ जनालाई खोप लगाउन बाँकी छ ।

Advertisement

भारत सरकारले उपहारस्वरूप उपलब्ध गराएको १० लाख डोज (मात्रा) खोप ७७ जिल्लाका १८५ खोप केन्द्रबाट लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार चौथो दिनसम्म ६४ हजार ४२२ व्यक्तिले खोप लगाएका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पहिलो चरणमा प्राथमिकतामा परेका लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले अबको पाँच दिनभित्र खोप लगाउन आग्रह गरिएको छ । स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट सिफारिस पत्रसहित सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

देशभर आइतबार १०५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या २ हजार २९ जना रहेको छ ।

आइतबार देशभर ३ हजार ३०८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभर पीसीआर परीक्षण हुनेको संख्या २० लाख ७१ हजार ७ पुगेको छ । आइतबार थप २ जनाको मृत्यु भएको छ । योसँगै कुल संक्रमित मृतकको संख्या २ हजार २९ पुगेको छ । हाल १०२ जना क्वारेन्टिनमा रहेका छन् ।

आइतबार देशभर २८८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।