November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

देशभरका विभिन्‍न सवारी दुर्घटनामा सातजनाको मृत्यु

2K

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर सवारी दुर्घटनामा परेर सात जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बिजी मलअगाडि सडकमा बा.८७ प ७०९२ नम्बरको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिँदा लमजुङ दोदी गाउँपालिका ७ घर भई काठमाडौं महानगरपालिका २६ नयाँ बसपार्क डेरा गरी बस्ने ५६ वर्षीया सुनमाया गुरुङको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

यस्तै, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ७ अम्मरसिंह चोकस्थित सडकमा बा.९३ प ३३१० नम्बरको  मोटरसाइकल शनिबार राति अनियन्त्रित भई दुर्घटना हुँदा चालक सिन्धुली घर भई भक्तपुर राधेराधे बस्ने ३१ वर्षीय निराजन बरालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। 

सप्तरीको कन्चनरुप नगरपालिका ८ गुवास टोलस्थित सडकमा स.१ ह ८३८ नम्बरको अटोले शनिबार साँझ ठक्कर दिँदा पैदलयात्री हनुमाननगर कंकालिनी नगरपालिका १२ बस्ने ३४ वर्षीय ईसराफिल अलीको घट्नास्थलमै मृत्यु भएको छ। अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बाँकेको बैजनाथ गाउँपालिका १ पन्ध्रखोला मोडस्थित सडकमा भे.१ च २९९० नम्बरको बोलेरो र भे.५ प ६७७७ नम्बरको  मोटरसाइकल शनिबार दिउँसो एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक दैलेख नारायण नगरपालिका ११ बस्ने २९ वर्षीय नविन बिष्टको मृत्यु भएको छ। 

उनको मेडिकल कलेज कोहोलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार घाइते १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुवै सवारी साधन र बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

सुर्खेतको लेकबेसी नगरपालिका ८ गन्यपानीस्थित सडकमा भे.१ ख १७२० नम्बरको बसले शनिबार साँझ किच्दा सोही ठाउँ बस्ने ५२ वर्षीय मान बहादुर फौजाको मृत्यु भएको छ। उक्त बसमा सवार उनी बसबाट झरी घरतर्फ जाने क्रममा सोही बसको पछाडिको टायरले किचेर फौजाको घटनास्थलमै मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यस्तै कैलालीको घोडाघोडी नगरपालिका १० वन डिभिजन कार्यालय अगाडि सडकमा म.१ त ५४२ नम्बरको ट्याक्टर र बा.९१ प ४०४ नम्बरको मोटरसाइकल शनिबार राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेहरुमा सोही नगरपालिका १० पहलमानपुर बस्ने २३ वर्षीय गोबिन्द बुढा र १८ वर्षीय मान बहादुर बुढा रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो। दुबै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।