November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सुरज रानाको कवितासङ्ग्रह ‘जब कविता निस्कन्छ जुलुसमा’ विमोचन

1.5K

उपसभामुख राना लक्षित श्रवणको कटाक्ष, ‘कुनै पदमा बसेपछि आत्मरति गाए हुने रैछ’

काठमाडौं । कवि सुरज रानाको कवितासङ्ग्रह ‘जब कविता निस्कन्छ जुलुसमा’ विमोचन भएको छ । शनिबार बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, कवि श्रवण मुकारुङ, उपप्राध्यापक डा. विन्दु शर्मा र अध्येता गणेश खनियाँले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन् ।

विमोचन समारोहको प्रमुख अतिथिको रुपमा शुभकामना मन्तव्य दिंदै उपसभामुख इन्दिरा रानाले ‘जब कविता निस्कन्छन् जुलुसमा’ शीर्षकबाटै बिद्रोही लाग्ने बताइन् । तरकार्यक्रम आउनुअघि नाटक हो कि कविताको कार्यक्रम भएको भन्ने चाहीँ आफूलाई थाहा नभए अभिव्यक्ति दिइन् ।

उपसभामुख रानाले भनिन्, ‘मैले यो हेरेको पनि छैन । आएर शीर्षक हेर्दाखेरी भने एउटा बिद्रोही जन्मिन लागेको जस्तो लाग्यो । तर कताकता वहाँको अन्तरद्वन्दले बिद्रोह गर्नु पनि हुन्न, क्रान्ति गर्नु पनि हुन्न भन्न चाहनुहुन्छ वहाँले ।’ त्यसपछि उपसभामुख रानाले आदिवासी समुदायबारे आफ्नो अनुभव सुनाएकी थिइन् ।

Advertisement

उपसभामुखपछि बोलेका वरिष्ठ कवि श्रवण मुकारुङले उनको अभिव्यक्तिलाई आत्मरति गाएको आरोप लगाए । उनले भने, ‘अब हेर्नोस्, अफ्ठ्यारो छ । मुलतः कुनै पदमा थ्यो भने जे पायो तेइ बोल्न मिल्दो रैछ हैन ? एकातिरको प्रसंग छ एकातिर भट्याए पनि हुने रैछ । आत्मरति गाए पनि हुने रैछ ।’ उनले आउने कार्यक्रममा प्रमुख अतिथि बोलाउदा सम्भव समूहले ध्यान दिनुपर्ने पनि सुझाए ।

यस्तै, कवि मुकारुङले कविता व्याख्या गरिरहनुपर्ने चिज नभएको टिप्पणी गरे । मुकारुङले भने, ‘सुरजले कवितामार्फत स्पष्टसँग आफ्नो विचार राखेका छन् । काव्यचेतसहित वैचारिक रुपमा चोटिलो प्रहार गर्नसक्नु उनको सबल पक्ष हो । उनका कविताहरुमा प्रशस्तै राजनीतिक व्यङ्यचेत प्रयोग भएको छ । भूपी शेरचनजस्ता लोकप्रिय अग्रज कविहरुमा यस्तो चेत पाइन्छ, उनीहरुका कविताले नेपाली समाजको मनोविज्ञानलाई पक्रिन सकेकैले ती कविहरुलाई आज पनि पाठकले ससम्मान पढिरहेका छन् । सुरजका कविताहरुमा आफ्नो परिवेशको रैथाने सुगन्ध पनि पाइन्छ । आफ्नो समुदायभन्दा फरक समुदायको बारेमा समानुभूतिप्रधान कविता लेख्नसक्नु उनको अर्को सबल पक्ष हो ।’

कवि तथा समालोचक डा. विन्दु शर्माले विगतमा सुरजद्वारा लेखिएका कविताहरुभन्दा मौलिक र स्तरीय कविताहरु यस सङ्ग्रहमा रहेको बताइन् ।

डा.शर्माले भनिन्, ‘सुरजका कविताहरुमा पछिल्लो समय भएका राजनीतिक परिवर्तनहरुले स्थापित गरेका मुद्दाहरुको निरन्तरता पाइन्छ । पहिचान, बहुभाषिक संवेदना, समावेशीकरण, सांस्कृतिक जागरणजस्ता पक्षमा उनले काव्यिक बिम्बहरुको निर्माण गरेका छन् । उनले कवितामार्फत आफ्नो अस्तित्वको दाबी पनि गरेका छन् । उनका कवितामा समसामयिक वस्तुस्थितिमाथि आलोचना, व्यङ्य र विद्रोह एकसाथ पाइन्छ ।’

उनले यो लेखकको आन्तरिक विचार भन्दा पनि बाहिरतिर फर्किएका कविता बढी भएको टिप्पणीसमेत गरिन्। उनले भनिन, ‘मैले भने खोजेको अहिले समकालीन कविता लेखनको प्रवृत्ति जतातिर हुत्तिएको छ, त्यतातिर गएको छ । अहिलेको कविता लेखनले बिमल निभाको धारलाई छोडिरहेको छ । हामी धेरै चाहीँ भूपीका सन्तान भएर आएका छौं ।केही बैरागी काइलाका सन्तान भएर आएका छौं ।’

यस्तै, अध्येता गणेश खनियाँले सुरजका कविताहरुमा विविधता झल्किएको र तिनमा वैश्विक विषयहरुको प्रतिनिधिमूलक उठान भएको बताए ।

खनियाँले भने, ‘मौलिकता, प्राङ्गारिकता र स्थानिकतामा जोड दिंदै सुरजले कवितामा नयाँ बिम्बहरुको प्रयोग गरेका छन् । नेपाली कवितावृत्तमा उनको अलग हस्ताक्षर देखिएको प्रतीत हुन्छ । कविताले उठान गरेका प्रश्नहरुले पाठकलाई घोच्ने र सोच्ने बनाएका छन् ।’

यस्तै संग्रहबारे बोल्दै गणेश खनियाले कवितामा थुप्रै विषय आएको बताए। ‘बिद्रोह त केन्द्रीय स्रोत छ, राजनीति चर्चा छ । राजनीति आइरहँदा अध्ययनको फराकिलो अभ्यास छ । अन्तरास्ट्रिय विश्व चेतको कुराहरू आउछ । पहिचानको मुद्दाको कुराहरू आएको छ । लिम्बु र किरात मिथहरू धेरै आएको छ’, खनियाँले बताए ।

कार्यक्रमको सुरुवात संग्रहबाट कवि तथा रंगकर्मी अंशु खनालले एक प्रतिनिधि कविता वाचन गर्दै सुरुवात गरिएको उक्त कार्यक्रममा रंगकर्मी इङ्गी होपो कोइच सुनुवारले ‘किताबमा देश’, भूमिका थारुले ‘निहारीकाको आत्मप्राण’, राधिका परियारले ‘ओ बाहुनी’, कवि रिमा केसीले ‘म ब्रह्माण्ड’, कवि तथा संगीतकार वेधनिधि पौडेलले ‘नविनता’ कविता वाचन गरेका थिए ।

कवि सुरज राना आवद्ध संस्था सम्भव समूहद्वारा आयोजित कार्यक्रमको संचालन कवि तथा पत्रकार बच्चु हिमांशुले गरेका थिए।