चितवन–पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाडौँबाट काँकडभिट्टातर्फ गइरहेको ना७ख २१११ नंको बस र विपरीत दिशाबाट आइरहेको ना६ख ४२८१ नंको ट्रक आपसमा ठक्कर खाएको थियो । ठक्करबाट घाइते भएका बसका चालक श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
राति ११ बजे भएको दुर्घटनामा परी बसका सहचालक रौतहट चपुर–४ बस्ने ४९ वर्षीय विनोद शर्मा सङ्ग्रौला र ट्रकका सहचालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का सुनीलकुमार साह घाइते भएका छन्। घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरुको अवस्था मध्यम रहेको र बसमा सवार १५ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ। ट्रकका चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेका छन्।रासस