काठमाडौं । अबदेखि संसद्का समितिमा गैरसरकारी संस्था (एनजिओ/आईएनजीओ)को सहयोग लिन नपाइने भएको छ । विभिन्न गैरसरकारी संस्थाहरूले खाजा लगायत अनुमति बिना नै सहयोग गर्ने गरेको पाइएपछि संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले एक विज्ञप्ति जारी गर्दै अबदेखि त्यस्तो नगर्न आग्रह गरेका हुन् ।
महासचिव पाण्डेद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सङ्घीय संसद्को संस्थागत जानकारी एवं अनुमति बिना कतिपय गैरसरकारी संस्था (एनजिओ/आईएनजीओ)हरुको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको भन्ने गुनासाहरू सुनिने गरिएको सन्दर्भमा समय समयमा सतर्क गराउँदै आएको भए पनि यस्ता गुनासाहरू पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराउने भन्ने प्रतिनिधि सभाका सम्माननीय सभामुख र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षबाट निर्देशन भएअनुसार जानकारी गराइएको छ ।’
आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा गैरसरकारी संस्था (एनजिओ) का प्रतिनिधिसहित खाजाको प्रवेशको चौतर्फी आलोचना भइरहेको छ ।