November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपालमा तीन साताभित्र कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्ने सरकारको तयारी

2.9K

काठमाडौं:  नेपालमा आगामी तीन साताभित्र कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने तयारी थालिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमण विरुद्धको खोप अभियान सञ्चालनको तयारीका लागि मंगलवारदेखि राजधानीमा प्रशिक्षण सुरु गरेको छ ।

भारत लगायतका मुलुकबाट प्राप्त हुने परिमाणका आधारमा पहिलो चरणमा स्वास्थ्यकर्मी र अस्पतालमा कार्यरत व्यक्तिलाई खोप दिने तयारी छ । त्यसपछि प्राथमिकताका आधारमा खोप वितरण गर्ने योजना छ । खोप सुरक्षित रूपमा राख्न सबै प्रदेश र केन्द्रमा एउटा गरी कुल आठ वटा भण्डारण केन्द्र निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ ।

सरकारी खोप अभियानअन्तर्गत अहिले देशभर खोप लगाइदिने सीप भएका झन्डै आठ हजार जनशक्ति छन । अहिलेसम्म नेपाल सरकारले भारतको सीरम इन्ष्टिच्यूटले उत्पादन गरेको अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको कोभिशील्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

Advertisement

कोभिशील्ड खोपलाई सर्तसहित दुई वर्षका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको हो । नेपालले कुल जनसंख्याको २० प्रतिशत अर्थात् ६० लाख जनालाई पुग्नेगरी खोप किन्ने तयारी गरेको छ । त्यसका लागि नेपाली पक्षले सहयोगको अपेक्षा गर्दै भारत सरकारलाई औपचारिक अनुरोध गरिसकेको छ ।

कोभ्याक्स भनिने कोरोना विरुद्धको खोपबारेको विश्वव्यापी गठबन्धनबाट पनि जनसंख्याको २० प्रतिशतले खोप प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।