धनुषा – ‘जनकपुर–जयनगर रेल्वे’ यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा सुरु हुने बताए।
भारतको विहार राज्यको जयनगरदेखि जनकपुरको कुर्थासम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन हुनेछ। महाप्रबन्धक भट्टराईले भने, ‘जयनगरदेखि कुर्थासम्मका लागि रेल्वे लिक, स्टेसन, सिग्नललगायतका संरचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत भइसकेको र सो खण्डमा रेल सञ्चालन गर्न अब कुनै पनि प्राविधिक काम बाँकी छैन।’
महाप्रबन्धक भट्टराईको अनुसार माघ १५ गतेभित्र रेल सेवा सञ्चालन गर्नका लागि आवश्यक मुख्य प्राविधिक जनशक्ति भारतबाट नेपाल आइपुग्दैछ। त्यसका लागि भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पोरेशनसँग सम्झौता हुने भएको उनले बताए। भट्टराईले भने, ‘सम्झौताका लागि आवश्यक ‘डकुमेन्टस’समेत तयार भइसकेको छ र ड्राइभर, इञ्जिनीयरलगायत २६ जना मुख्य प्राविधिक जनशक्ति भारतबाट नेपाल आउन तयारी अवस्थामा रहेको छ।’ त्यसैगरी रेल सेवा सञ्चालन गर्न ४६ जना निजामती सेवाबाट र ६० जना रेल्वेका सेवा निवृत्त कर्मचारी लिएर तत्काल सेवा सञ्चालन गरिने महाप्रबन्धक भट्टराईले जानकारी दिए।