काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा सांसदले उठाएको विभिन्न विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । सभामुख घिमिरेले शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी र विपक्षी दलले समसामयिक विषयमा सरकारको जवाफ माग गरेपछि उक्त निर्देशन दिएका हुन् ।
बैठकमा राजेन्द्र लिङ्देन र सांसद सूर्यबहादुर थापा क्षेत्रीले मिटरब्याज पीडित, लघुवित्तपीडित, दुग्ध किसानका समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराएका थिए ।
यसअघि पनि सांसदहरुले बालकुमारी घटना, भ्रष्टाचारका आरोप लागेका मन्त्री हटाउनुपर्नेलगायत विषयमा स्पष्ट जवाफ दिनुपर्ने माग राख्दै आएका थिए । सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिन सभामुखले रुलिङ गर्दै आएका थिए ।