काठमाडौं । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ । बुधबार साँझ कैलालीको मोहन्याल गाउँपालिका–७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा भएको दुर्घटनामा अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको मृत्यु भएको हो ।
प्रहरीका अनुसार भे १३ प १०७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ढकाल दम्पत्तिको मृत्यु भएको हो । मोटरसाइकल सडकबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । उनीहरू अछामबाट बर्दियाको भुरीगाऊँ तर्फ आइरहेका थिए । बुधबार साँझ करिब ७ बजेतिर नदीमा खसेका दुवै जनालाई मोटर बोट र र्याफ्टिङको सहायताले उद्धार गरिएको थियो । मृतकका शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
मृतक ढकालका २ छोरा र १ छोरी बर्दियाको भुरीगाऊँमा बसेका छन् भने ढकाल अछामको विनायक बजारमा बिजुली पसल राखेर विद्युतको काम गरिरहेका थिए । मृतकका बुवा मोतीराम ढकालको पनि ५ वर्षअघि अछाममा बस दुर्घटनामा परी मृत्यु भएको थियो ।