काठमाडौं । यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत्र महिनाको पहिलो सातादेखि सञ्चालन हुने भएको छ । जाजरकोट र रुकुम जिल्लामा आएको भूकम्पका कारण त्यहाँका बालबालिकाले पढ्न नपाएको भन्दै परीक्षा सर्छ की भन्ने हल्ला निराधार रहेको भन्दै तोकिएको समयमा परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डले भूकम्पका कारण जाजरकोट र रुकुममा कक्षा १० को परीक्षा दिने विद्यार्थीमध्ये करिब २ हजार ७ सय विद्यार्थी बढी प्रभावित भएपनि त्यहाँ पठनपाठन भैरहेको र विद्यार्थी तथा शिक्षकहरुले परीक्षामा सहभागी हुने बताएको हो ।
यस पटकको परीक्षामा नयाँ पाठ्यक्रम अनुसारको प्रश्नपत्र सोधिने, जसअनुसार सम्पूर्ण विद्यालयहरुले नयाँ विशिष्टिकृत तालिका अनुसार पठनपाठन गराउनुपर्ने पनि बोर्डले जनाएको छ ।
यस पटकको परीक्षामा ननग्रेडींग पद्धति लागु हुने भएको छ । ३५ प्रतिशत भन्दा कम अंक ल्याउने विद्यार्थी अनुत्तिर्ण हुने व्यवस्था गर्न लागिएको पनि बोर्डले जनाएको छ ।