March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

एक करोड फिरौती माग्दै गोली प्रहार गरेको आरोपमा तीनजना पक्राउ

455

विराटनगर । मकवानपुरमा एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् ।

प्रहरीका अनुसार तीनैजनाले यही मङ्सिर १९ गते राति हेटौँडा–९ का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए । प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरुले पौडेलको घरमा गोली प्रहार गरेका थिए । फिरौती माग्ने निश्चल सूर्यप्रसादका भतिजा हुन् ।

आरोपित तीनैजनालाई प्रहरीले आज सार्वजनिक गरेको हो। घटनाको मुख्य योजनाकार निश्चल रहेको प्रहरीले जनाएको छ । निश्चलले नै सूर्यप्रसादको घरमा गोली हान्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Advertisement

उनीहरुले चलाएको गोलीबाट मानवीय क्षति भने भएको छैन ।

प्रहरीले योजनाकार निश्चलको साथबाट पेस्तोलसहित २० थान गोली बरामद गरेको छ । आरोपितहरुले हेटौँडा–४ मा कोठा भाडामा लिएर लागुऔषधको कारोबारसमेत गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले तीनैजनाको साथबाट दुई मोटरसाइकल, दुई ग्राम खैरो हिरोइन, पाँच थान मोबाइल र ५० हजार बरामद गरेको छ । पक्राउ परेका तीनै जनामाथि प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध कारोबार र हातहतियारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।