काठमाडौं । झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीस्थित सडकमा लु.१च. ६८६३ नम्बरको गाडी र मे.५ प ४४८५ नम्बरको स्कुटर शनिबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा स्कुटर चालक सोही नगरपालिका–२ बस्ने ३५ वर्षीय यम भट्टराई र स्कुटरमा सवार सोही ठाउँ बस्ने ३६ वर्षीय रोसन मगर रहेका छन् ।
दर्घटनामा गम्भीर घाइते भएका उनीहरुको प्रादेशिक अस्पताल भद्रपुर हुँदै बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भक्तपुरको मध्यपुरठिमी नगरपालिका–७ कमेरेटारस्थित सडकमा बा.२० च ३०३१ नम्बरको हात्ती गाडीको ठक्करबाट भारत मोतिहारी घर भई सोही नगरपालिका–७ कमेरेटार डेरा गरी बस्ने गुड्डुलाल साहकी छोरी ४ वर्षीया आदिती साहको आइतबार बिहान मृत्यु भएको छ ।
आफ्नै डेरा अगाडि खेलिरहेको अवस्थामा उक्त गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।