काठमाडौं । मोरङ जिल्ला अदालतले नवजात शिशु बिक्री गरेको कसुरमा पक्राउ परेका डा. तपेश्वरलाल कर्णसहित तीनजनालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ । न्यायाधीश अम्बिका प्रसाद दाहालको इजलासले डा. कर्णसहित सूर्यनारयण राजवंशी र गोविन्द राईलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
गोविन्द राई नवजात शिशुका बाबु हुन् भने राजवंशीले शिशु खरिद गरेका थिए । डा. कर्णले पाँच लाख रुपैयाँमा शिशु बेचेको आरोप छ ।
भोजपुर हतुवागढी–४ का गोविन्द राई र उनीकी प्रेमिकाको सम्बन्धबाट जन्मिएको शिशु बिक्री भएको तथ्य बाहिरिएको थियो । विराटनगरको ग्रीनक्रस अस्पतालमा जन्मिएकी शिशुलाई डा. कर्णले बिक्री गरेका थिए ।
उक्त प्रकरणमा जोडिएका अन्य तीन जना सहयोगी भने धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा हुनेमा सुक्री राजवंशी, नर्स निर्मला यादव र दिलमनी देवी राजवंशी छन् । उनीहरु क्रमशः दुई लाख, एक लाख र १० हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।