काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राजा शब्द संसदीय रेकर्डबाट हटाउन माग राखेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ‘राजा’ शब्दलाई संविधानले नचिन्ने भन्दै संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् ।
दाहालअघि बोलेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई ‘राजा’ भनेर सम्बोधन गरेका थिए । लगत्तै बोलेका सांसद दाहालले भने, “नेपालको संविधानले राजा चिन्दैन । एकजना माननीय ज्यूले ‘राजा’ भन्ने शब्द प्रयोग गर्नुभयो सम्मानित सदनमा । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । तसर्थ यो राजा भन्ने शब्द रेकर्डबाट हटाइयोस् भन्ने माग राख्न चाहन्छु ।”