December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

गायिका दिलमाया खातीको निधन

515

विराटनगर । गायिका दिलमाया खातीको निधन भएको छ । उनको मंगलबार राति दार्जिलिङमा निधन भएको हो ।

उनी लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित थिइन् । सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी उनको ८४ वर्षको उमेरमा निधन भएको हो ।

छातीमा समस्या देखिएका कारण उनी केही समयअघि अस्पताल बसेर फर्किएकी थिइन् । उनलाई खानामा अरुचीलगायतका समस्या थियो । लामो समय शिक्षण पेशामा आबद्ध उनी अविवाहित थिइन् । उनी घुमस्थित घरमा उनी दाइ र भदैनीहरूसित बस्दै आएकी थिइन् ।

Advertisement

रेडियो नेपालबाट गोल्ड मेडल पाएकी लिदमायालाई २०७१ सालमा नारायण गोपाल संगीत कोषले ‘स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार’ प्रदान गरेको थियो ।

गोपाल योञ्जन, कर्म योञ्जन, रञ्जित गजमेर, शान्ति ठटाल, अरुणा लामाकी समकालीन खातीले नारायण गोपालकै आग्रहमा ‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा’ बोलको गीत गाएकी थिइन् । यो गीत अहिले पनि उत्तिकै लोकप्रिय मानिन्छ । उनीहरूले कोलकाता पुगेर ‘बिछोडको पीडा र ‘तिमी देख्दा रहर…’ भन्ने युगल गीत रेकर्ड गराएका थिए ।

उनले ‘बचाई राख सम्झनाभित्र’, ‘म कहिले मर्दिनँ’, ‘सावन फर्की फेरि आयो’, ‘माया लगाई निष्ठुरी फर्केन’जस्ता डेढ सय हाराहारीमा गीतहरू गाएकी छन् ।