काठमाडौं । खराब औसममा उडान गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई हेलिकोप्टर कम्पनीका हेलिकप्टरको उडानमा रोक लगाएको छ । लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गरेको भन्दै प्राधिकरणले श्री एयरलाइन्स र फिष्टेल एयरको हेलिकप्टरलाई ग्राउण्डेड गरेको हो ।
मौसम सफा भएर उडान भर्नुपर्ने मापदण्ड उल्लंघन गरेकाले दुई कम्पनीका तीन हेलिकप्टरलाई अर्को निर्णय नभएसम्मका लागि ग्राउण्डेड गरिएको बताइएको छ। भिजिबिलिटी एक सय मिटर नभएको अवस्थामा समेत ‘भिएफआर’ नियम मिच्दै हेलिकप्टर उडाएपछि प्राधिकरणले ती दुई हेलिकोप्टरलाई ग्राउण्डेड गरिएको जनाएको छ ।
हेलिकप्टर उडानका लागि ‘कन्ट्रोल एयरस्पेस’मा कम्तीमा पाँच हजार र ‘अनकन्ट्रोल एयरस्पेस’मा एक हजार पाँच सय भिजिबिलिटी चाहिन्छ । तीन हेलिकोप्टरको उडानको ‘भिजुअल’का आधारमा ‘क्रिटिकल’ उडान अर्थात् झण्डै दुर्घटनाबाट जोगिएको पाइएका आधारमा ग्राउण्डेड गरिएको प्राधिकरणले स्पष्ट पारेको छ ।