काठमाण्डौं । उत्तर एटलान्टिक सहयोग संगठन नाटो एशियामा विस्तार हुने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट सामाजिक सांस्कृतिक अध्ययन मञ्चले काठमाण्डौमा आयोजना गरेको “नाटो अब टाढा छैन” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरूले त्यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का विदेश विभाग सदस्य तथा विदेश मामिला विश्लेषक ओम चरण अमात्यले अमेरिकी सहयोग परियोजना एमसीसी लागु भएपछि चीनलाई घेर्ने उपयुक्त भूमिको रुपमा नेपाललाई उपयोग गर्दै अमेरिकाले नाटोलाई एशियासम्म विस्तार गर्ने खतरा रहेको बताए। सन् २००८ को पैचिङ ओलम्पिक खेलकूदमा चीनले प्राप्त गरेको आश्चर्य लाग्दो उपलब्धि र विश्वको दोश्रो ठूलो अर्थतन्त्र बन्नै लागेको चीन आफ्नो सबैभन्दा ठूलो खतरा सम्झेर चीनका विरुद्ध अमेरिका एमसीसी परियोजना मार्फत नेपाल पस्न लागेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य भविसोर पराजुलीले अमेरिका विश्व साम्राज्यवादको नेतृत्वकर्ता भएको र उसको सबैभन्दा ठूलो लडाई कम्युनिस्टहरूसँग चलिरहेको बताए ।
कार्यक्रमका सभापति न्हुछे बहादुर ढुकुछुले सार्वजनिक चासो र जनसरोकारका विविध विषयमा सामाजिक साँस्कृतिक अध्ययन मञ्चले समय समयमा कार्यक्रमहरू सञ्चालन गरिहरने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सहभागीहरुले एमसीसी परियोजना, चीनले जारी गरेको नयाँ नक्सा लगायतका विविध विषयमा जिज्ञासा राखेका थिए ।
नेकपा एकीकृत समाजवादीका विदेश विभाग सचिव डा. शंकर खतिवडाले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष इश्वरी नेपालले गरेका थिए भने जनसांस्कृतिक महासंघका अध्यक्ष कृपाराम शर्मा धमलाले धन्यवाद ज्ञापन गरेका थिए।
नेकपा एकीकृत समाजवादी अन्तर्गतको जनसांस्कृतिक महासंघको घटक संस्थाको रुपमा रहेको सामाजिक सांस्कृतिक अध्ययन मञ्चले प्रत्येक महिना यस्ता सार्वजनिक सरोकारका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।