काठमाडौं । सहमति अनुसार फोहोर व्यवस्थापन नगरेको भन्दै बञ्चरेडाँडा ल्याण्डफिल साइट वरपरका बासिन्दाले १ असोजदेखि फोहोर फाल्न नदिने चेतावनी दिएका छन् ।
सोमबार बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले पत्रकार सम्मेलन गरी यसअघि भएका सहमति पालना नभए असोज १ देखि फोहोर फाल्न नदिने बताएको हो ।
समितिका संयोजक श्रीराम ढुंगानाका अनुसार मान्छे र फोहोर एकै ठाउँमा बस्न नमिल्ने भएकोले बञ्चरेडाँडामा फोहोर लैजान रोक्ने भएका हुन् ।
ल्याण्डफिल साइट प्रभावित क्षेत्रलाई विशेष सम्वेदनशील क्षेत्र घोषणा गर्नुपर्ने, प्रभावित क्षेत्रलाई अधिग्रहण गरेर मानव बस्तीरहित हरियाली क्षेत्र कायम गर्नुपर्ने, अस्पतालजन्य, विषादीजन्य र औद्योगिक फोहोरमैला फाल्न नपाइने उनीहरुको माग छ ।
काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाको सिमानामा पर्ने बञ्चरेडाँडामा फाल्ने गरिएको छ । स्थानीय बासिन्दाले बेला बेलामा आन्दोलन गरे पनि अस्थायी समाधान खोजेर फोहोर फाल्ने गरिएको छ ।