September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

सकेनन् बालेनले राप्रपाको कार्यालय भवन भत्काउन

730

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय भत्काउने मेयर बालेन शाह र काठमाडौँ महानगरपालिकाको प्रयास विफल भएको छ ।

महानगरपालिकाको टोली डोजरसहित कार्यालय नजिक पुगेपछि राप्रपाका नेता कार्यकर्ताको अवरोध र शक्तिकेन्द्रसँग अध्यक्ष राजेन्द्र लिङ्देनको परामर्शपछि आज कार्यालय जोगिएको हो ।

यसअघि शुक्रबार महानगरपालिकाले हाइटेन्सन लाइनमुनि पार्टी कार्यालय रहेको भन्दै हटाउने उर्दी जारी गरेको थियो । सोमबारसम्म दिइएको समयमा राप्रपाले पार्टी कार्यालय नहटाएपछि महानगरले डोजर लगाएर हटाउने प्रयास गरेपनि विफल भएको हो ।

Advertisement

बिहानैदेखि राप्रपाको कार्यालय धुम्बाराही परिसरमा पार्टीका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो भने कार्यालय नजिक गाडीसमेत तेर्स्याएर अवरोध गरिएको थियो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कार्यालय जोगाइदिन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग समेत हारगुहार गरेको बताइएको छ । त्यसपछि श्रेष्ठकै निर्देशनमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले समन्वय गरेपनि राप्रपाले महानगरपालिकाले बलजफ्ती गरेको भन्दै विरोध जारी राखेको छ । विद्युत् प्राधिकरण र महानगरका प्रतिनिधिसहितको बैठकमा कुनै सहमति नभएको र प्रशासनले पनि प्रहरीको ब्याकफोर्स नदिएपछि सोमबार भवन जोगिएको बताइएको छ ।