काठमाडौं । नेपाल समाजवादी पार्टीनिकट नेपाल समाजवादी तामाङ सङ्घले विभेदकारी ऐन खारेज गर्न माग गरेको छ । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले गोरुको मासु खान पाइने मौलिक हकमा हतकडी लगाइएको र यस्ता विभेदकारी ऐन खारेजीका साथै संविधान संशोधन गर्नुपर्ने माग रोखेको हो ।
संघकी महासचिव दिलमाया मोक्तानद्धारा प्रेस विज्ञप्तिमा भनिएको छ, ‘तामाङहरु प्राचिनकालदेखि नै गोरुको मासु खाँदै आइरहेको छन् । जुनदिन हाम्रो राज्य खोसियो त्यसदिनदेखि हामी तामाङहरुको भाषा, धर्मसंस्कार र संस्कृतिमाथि ठाडो दमन र हस्तक्षेप सुरु भयो । र युद्धमा बचेका केही तामाङहरुलाई जबर्जस्त हिन्दुकरण गरियो । त्यसपछि गोरुको मासु खान पाइने हाम्रो मौलिक हकमा हतकडी लगाउन थालियो ।’
पटकपटक व्यवस्था परिवर्तनको लागि भएको आन्दोलनबाट लोकतन्त्र निर्माण भएपनि लोकतान्त्रिक व्यवहार नभएको संघको ठहर छ । ‘जनयुद्ध लगायतका अन्य सबैखाले आन्दोलनमा तामाङ समुदायको ठूलो योगदान छ । करिब १६ सय तामाङ सहिदहरुको बलिदान पश्चात् २०६३ को अन्तरिम संविधानमा नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य घोषणा भयो । त्यसैगरी २०७२ शालमा नयाँ संविधान जारी भयो । तर, दुःखद पक्ष धर्मनिरपेक्ष भनिएको राज्यमा आजपनी गोरु काटेको आरोपमा ३ वर्ष जेल सजाय र ३० हजार जरिवानासहितको दण्ड सजायको ऐन पूर्णरुपमा पन्चायती व्यवस्थाकै ढाँचामा लागु भैरहेको हुँदा यस्ता विभेदकारी खच्चड ऐन खारेजीका र संविधान संशोधनका लागि हाम्रा गौरवशाली सङ्गठन नेपाल समाजवादी तामाङ सङ्घ जोडदार माग गर्दछ ।’, विज्ञप्तिमा भनिएको छ ।