काठमाडौं । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार बिहान सवा ५ बजे चितवनको दासढुंगामा दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् ।
तीव्र गतिमा रहेको बस नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका– २९ दासढुंगामा दुर्घटना भएको हो ।
अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर पल्टिदै गई बस रुखमा अड्किएर त्रिशुलीमा खस्नबाट जोगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेज भरतपुर र ८ जनाको जिल्ला सरकारी अस्पतालमा उपचार भइरहेको छ भने एक जना घाइतेलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
बसमा सवार ४० यात्रुमध्ये २१ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।