September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

योगदानका आधारमा किसानलाई पेन्सन

655

काठमाडौं । सरकारले कृषि उत्पादनको प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले किसान पेन्सनको अवधारणा अघि बढाउने भएको छ।

कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले किसानलाई योगदानमा आधारित वर्गीकृत किसान पेन्सन योजनाको अवधारणाअघि बढाउने नीति लिएको बताए।

प्रतिनिधिसभाको आजको बैठकमा कृषि मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कृषिको आधुनिकीकरण र यसमा युवापुस्तालाई आकर्षण गर्न कार्यक्रम ल्याइने उनले बताए।

Advertisement

युवालाई कृषिमा आकर्षित गर्ने उद्देश्यले स्थानीय तहसँगको सहकार्यमा युवा स्टार्ट अप कार्यक्रम ल्याइएको र त्यसका लागि बजेट पनि विनियोजन गरिएको मन्त्री भुसालले बताए।

सरकारले आगामी आर्थिक वर्षको लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयका लागि रु ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ।

कृषि तथा पशुपक्षी बीमाको प्रिमियममा अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिई उक्त प्रयोजनका लागि रु ९५ करोड छुट्याइएको र किसानलाई बीउबिजनमा अनुदान दिनका लागि बजेट विनियोजना गरिएको पनि उनले बताए।

मन्त्री भुसालका अनुसार चालु आवको लक्ष्य अनुसार कुल चार लाख ७८ हजार पाँच सय मेक्ट्रिकटन रासायनिक मल खरिदको सम्पूर्ण प्रक्रिया समयमै सम्पन्न गरिएको छ। त्यसमध्ये तीन लाख ५१ हजार मेक्ट्रिकटन आयात भई बिक्री वितरण भइरहेको छ र हाल ७८ हजार ४२२ मेक्ट्रिकटन मल देशभरका कृषि सामग्री कम्पनीका ४१ र साल्टट्रेडिङ कर्पोरेशनका २४ डिपोमा मौज्दात रहेको छ।

असारको अन्तसम्ममा थप ४५ हजार मेक्ट्रिकटन र साउन महिनाभित्र थप ७५ हजार मेक्ट्रिकटन रासायनिक मल प्राप्त हुने र यस वर्षको धानलाई रासायनिक मलको अभाव नहुने उनले बताए।

विगतमा जस्तै बजेटको सुनिश्चितता नभएर समयमा मल ल्याउन नसकिने अवस्था आगामी वर्षमा नहोस् भनेर आगामी आर्थिक वर्षको लागि रु तीस अर्ब रकम सुनिश्चित गरिएको उनले बताए।