September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

“पुर्वेली कवि-कविता” भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

2.1K

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित राष्ट्रिय कविता महोत्सवमा छानिएका २५ कविहरु मध्ये प्रदेश नम्बर १ बाट प्रतिनिधित्व गर्ने कविहरुका बिच भेट्घाट तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। अनलाईन समाचार संस्थाहरु नेपाल मामिला र नयाँ-अनलाईनले आयोजना गरेको “पुर्बेली कवि-कविता” कार्यक्रम आईतबार दिउँसो पोर्क हव रेस्टुरेन्ट झम्सिखेलमा सम्पन्न भएको हो।

महोत्सवमा प्रदेश नम्बर १ बाट छनौट भएका ११ जना कविहरु मध्ये सो कार्यक्रममा उपस्थित ५ जना कविहरु लगायत उपस्थित अन्य कविहरुले समेत कविता वाचन गरेका थिए।

महोत्सवमा सहभागी कविहरु ईन्दु फोम्बो, दिनेश राई, पुर्ण सन्ध्यासमाधी, प्रदिप योङ्हाङ् र प्रकाश दिप्सालिले महोत्सवका वारे आफ्नो अनुभव सहित आफ्ना १/१ थान कविता वाचन गरेका थिए। कार्यक्रममा उपस्थित पुर्वेली कविहरु उत्तम तुम्सा, सुनिल आङ्बो, सीता तुम्खेवा, बच्चु हिमांशु, अञ्जना इछमफूल, नमन राई र सुवास राईले पनि आ-आफ्ना कविताहरु वाचन गरेका थिए।

Advertisement

अनौपचारिक भेट्घाट्का रुपमा आयोजना गरिएको सो कार्यक्रममा उपस्थित कवि एवं लेखक प्रगती राईले समकालीन कविहरु अघिल्लो पुस्ताका कविहरु भन्दा खुला गरी राज्यसत्तालाई प्रश्न गर्न सक्ने वातावरणमा लेखिरहेको दाबी गरिन् भने पछिल्लो समय रैथाने संगितका बारे खोजमुलक सृजनामा तल्लिन संगितकर्मी झुमा लिम्बुले आदिवासी कला, ज्ञान एवं संगीतका बिषयहरु कवि, लेखकरुले लेखिदिए कै कारण आफूलाई काम गर्न सहज भएको बताईन्।

त्यस्तै गरी त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक एवं समाजशास्त्री डा. बालकृष्ण माबुहाङले आफ्नो भाषा तथा सांस्कृतिक सौन्दर्य बारे हामी के कति सचेत छौं भन्ने प्रश्न गर्दै भने, “यदि तपाईं नेपाली भाषाको माध्यमबाट आफ्नो संस्कृति र पहिचानको कुरा कवितामा ब्यक्त गर्नुहुन्छ भने त्यो त्यति प्रभावकारी हुदैन जति आफ्नै भाषामा ब्यक्त गर्नुहुन्छ।”