विराटनगर । श्री भैरव गणको नेतृत्वमा पाँच दिने हातेमालो कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी साथै विपद व्यवस्थापनसँग सम्बद्ध निकायहरूसँग एक आपसमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले नेपाली सेनाको मोरङस्थित श्री भैरव गण थलाहामा हातेमालो कार्यक्रम सम्पन्न भएको हो ।
असार ५ गतेदेखि ९ गतेसम्म पाँच दिने अभ्यास हातेमालो कार्यक्रम नेपाली सेनाले प्रत्येक वर्ष सञ्चालन गर्दै आइरहेको श्री भैरव गणाका गणपति प्रमुख सेनानी अमृत थापा मगरले जानकारी दिए । उनका अनुसार यो कार्यक्रमले निरन्तरता पाएको पाँच वर्ष पूरा भएको छ ।
हातेमालो कार्यक्रम जेठ ७ र ८ गते नेपाली सेनाको जंगी अड्डामा सञ्चालन भएको र असार २८ र २७ गते प्रदेश स्तरीय अभ्यास हातेमालो सुनसरीस्थित नेपाली सेनाको पूर्वी पृतना हेड्क्वाटरमा सञ्चालन भएको प्रमुख सेनानी थापाले जानकारी दिए ।
“सहभागी सम्पुर्ण सरोकारवाला निकायहरूलाई अभ्याससम्बन्धि जानकारी, सरोकारवाला निकायबाट आ–आफ्नो कार्यालयको काम जिम्मेवारी साथै तयारीको बारेमा प्रस्तुतिकरण गरिएको थियो ।” प्रमुख सेनानी थापाले भने, “विपद्को काल्पनिक परिस्थितिको परिकल्पनामा आधारित कथामा सहभागिताहरूलाई प्रदेश, जिल्ला स्थानीय आपतकालीन सञ्चालन केन्द्र लगायतका समूहमा विभाजन गरेर विपतका परिस्थितिमा कसरी काम गर्न सकिन्छ भनेर छलफल गरिएको थियो ।
हातेमालो कार्यक्रम प्रभावकारी रहेको सहभागीहरूले धारणा राखेका थिए । कटहरी गाउपालिका प्रमुख देवराज चौधरीले हातेमालो कार्यक्रमले विपतमा सुरक्षाकर्मी, सञ्चारकर्मी रेड्क्रस जनप्रतिनिधीहरूको सहकार्य महत्वपूर्ण रहेको विषय स्पष्ट रहेको बताए ।
जिल्ला प्रमुख अधिकारी बिरेन्द्रकुमार यादवले विपतको समयमा सबैकाई कर्तव्य थाहा हुँदाहुँदै पनि हातेमालो कार्यक्रमले थप महसुस गराउने काम गराएको बताए ।
बेलाबेला सचेतनामुलक कार्यक्रम गरे सहयोग मिल्ने साथै सामुहिक काम कसरी गर्ने भन्ने थाहा हुने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला स्वास्थ कार्यालय, रेडक्रस सोसाइटी लगायतको विपद फोकल पर्सनहरूको सहभागी रहेको थियो ।