February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

गृहमन्त्रीज्यू, यदि नागरिकता माग्नु अपराध हो भने गोली हानेर धपाउनुस्- अब्दुल खान

1.5K

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले नागरिकताविहीन युवाहरूको माग सम्बोधन हुनुपर्ने बताएका छन् । युवाहरूले माइतीघरमा आन्दोलन चर्काइरहेको भन्दै माग सम्बोधन गर्न खानले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले नेपाली बाबुआमाको कोखबाट जन्मिएका युवाहरूले नागरिकता माग्दा सरकारले उनीहरूमाथि अपराधीको व्यवहार गरेको बताए ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रश्न गर्दै सांसद खानले भने, ‘नागरिकता पीडितहरूको सवालमा चाहे त्यो २०७७ होस् वा २०७९ या २०८०, अहिलेसम्म सरकार र दलहरूले महत्त्वका साथ लिइएको देखिँदैन । अहिलेसम्म तिमी कुटेजस्तो गर, म रोएजस्तो गर्छु भनेर मिलेमतो गरेको देखिन्छ । आज पनि नागरिकताविहीनहरू नागरिकता मागिरहेका छन् । गृहमन्त्रीज्यू, के नागरिकता माग्नु अपराध हो ?’

Advertisement

खानले राजनीतिक दलहरूले समेत नागरिकताका सवालमा बोली फेरिरहने र राजनीति गरिरहने प्रवृत्ति देखाएको बताए । उनले भबे, ‘नागरिकता राजनीति गर्ने विषय होइन, यो व्यक्तिको जीवनसँग जोडिएको हो । दलहरूले महिनैपिच्छे नागरिकताको सवालमा मुख फेरिरहन्छन् । संसद्‌मा पक्षमा भएको सांसद कहिले विपक्षमा पुग्छ, थाहा हुँदैन । संसद्‌बाट विधेयक पास हुन्छ, तर लागू हुँदैन, कहिले राष्ट्रपतिले रोक्छ, कहिले न्यायालयले रोक्छ । नागरिकताविहीनले नागरिकता पाउनेचाहिँ कहिले हो ?’

उनले नागरिकता माग्नुलाई अपराध हो भने जसरी व्यवहार नगर्न आग्रह गरे । उनले भने, ‘गृहमन्त्रीज्यू यदि नागरिकता माग्नु अपराध हो भने गोली हानेर धपाउनुस्, होइन भने नागरिकता दिनुस् ।’