November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

“स्कुलमा कविता” कार्यक्रमको आयव्याय सार्वजनिक

2.2K

अन्य संस्करणको निम्ति स्थानीय निकाय थप गम्भीर हुनुपर्दछ : अध्यक्ष दिप्साली

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र-३ ले आयोजना गरेको बराहक्षेत्रको साहित्याकासको लोकप्रिय कार्यक्रम “स्कुलमा कविता” कार्यक्रमको आयव्याय सार्कजनिक गरेको छ ।

शुक्रबार (२०८०/०२/२६ गते) स्वर्णिम साहित्य समाजको नियमित वैठक पश्चात् आफ्नो अफिसियल फेसबुक पेजबाट आयव्याय सार्वजनिक गर्दै पहिलो संस्करणको कार्यक्रमले जति लोकप्रियता पायो हिसाब किताबको हिसाबले पनि संतोषजनक रहेको अध्यक्ष प्रकाश दिप्साली राई र सचिव लक्ष्मण कटुवालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पुरस्कार राशी, प्रमाणपत्र , सम्मान पत्र, मेडल, मंच व्यवस्थापन, परपाहुना सेवा सत्कार, यातायात खर्च गरि जम्मा १ लाख ६३ हजार ४० रुपैयाँ खर्च भएको जनाएको छ भने आय तर्फ बराहक्षेत्र नगरपालिका, बराहक्षेत्र नगरपालिकाका वडाहरु ३/५/४/१/७/८ को आर्थिक सहयोग, यस्तै होटल ह्वाइट डोभ, अन्तर्राष्ट्रिय परदेशी समुह भारत, सक्षम युवा क्लब, नडाहा ग्लास हाउस, सगरमाथा इङिल्स स्कुल बेलबारी, साहित्य पोष्ट डट कम, अमेरिकामा रहेका ओम भट्टराई, ब्रदर्स ब्रेकरी, नेल्सन याक्थुम्बा, रमेश हतुवाली लगायतको प्रायोजन तथा सहकार्य गरी जम्मा रकम १ लाख ६५ हजार ५ सय रुपैयाँ सङ्कलन भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement

खर्च कटाएर वचत भएको रकम २ हजार ४ सय ६० रुपैयाँ स्वर्णिमको खाता रहेको बैंक एन आइएमबिमा जम्मा गरेको पनि उल्लेख गरिएको छ ।

विज्ञप्ति सार्वजनिक गरेपछि समाजका अध्यक्ष प्रकाश दिप्साली राईले “स्कुलमा कविता” कार्यक्रमलाई निरन्तरता दिन स्थानीय निकायले आफ्नो कर्तव्य सम्झेर साथ सहयोग गरेको खण्डमा मात्र सम्भव रहेको बताए । ‘सौजन्यदाता तथा शुभेच्छुकसँग मागेर मात्र यस्ता कार्यक्रमलाई अघि बढाउन हुन्छ । कवि तथा कलाकारहरुकोसमेत स्थानीय निकाय अभिभावक भएको नाताले यो कार्यक्रमप्रति जिम्मेवारी हुनुपर्छ ।’, उनले भने, ‘यो कार्यक्रम स्वर्णिम साहित्य समाजको मात्र नभइ बराहक्षेत्र नगरपालिकाकोसमेत प्रतिष्ठाको विषय भएकोले बराहक्षेत्र नगरपालिका, यहाँका वडाहरुले “स्कुलमा कविता” कार्यक्रमको निम्ति मन बढाएर सहयोग गर्नुपर्दछ । यो कार्यक्रम सम्पन्न गर्न कम्तिमा पनि ३ लाख रुपैयाँको हाराहारीमा बजेट चाहिन्छ अनि मात्र यो कार्यक्रमलाई सहज ढङ्गले सफलताका साथ सम्पन्न गर्न सकिन्छ नत्र यो कार्यक्रमलाई निरन्तरता दिन असम्भव जस्तै छ ।’

“स्कुलमा कविता” कार्यक्रमको पहिलो सस्करण गत वैशाख २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । जसमा वसन्तऋतु माविका आर्यन निरौला प्रथम, स्काई इङ्लिस स्कुल बराहक्षेत्र -३ नडाहाका पुष्पा घिमिरे दोस्रो, राजावास इङ्लिस बोर्डिङ स्कुल, बराहक्षेत्र -१० कि सुस्मिता खत्री तेस्रो र मुनवीम एकेडेमी बराहक्षेत्र -५ का इशा सुवेदी सान्त्वना बनेकी थिइन् । आर्यनले नगद रु. १०,०००/- आकर्षक ट्रफी, प्रमाणपत्र, एकझोला किताब र ‘साहित्य पोष्ट’को तर्फबाट एक बाकस किताब प्राप्त गरेका थिए । यस्तौ दोस्रो हुने घिमिरेले नगद रु. ५,०००/- , प्रमाणपत्र , एक झोला किताब, तेस्रो हुने खत्रीले नगद रु. ५,०००/-, प्रमाणपत्र , एकझोला किताब , सान्त्वना हुने इशा सुवेदीले पनि ५,०००/-, प्रमाणपत्र, एकझोला किताब प्राप्त गरेका थिए ।