November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विनेसामको विश्वव्यापी खुला गजल प्रतियोगिता सम्पन्न

3.1K

इजरायल । विश्व नेपाली साहित्य महासङ्घले आयोजना गरेको विश्वव्यापी खुला गजल प्रतियोगिताका विजेताहरू पुरस्कृत भएका छन् । यस्तै, महासङ्घले साहित्य क्षेत्रमा योगदान दिने तीन जनालाई सम्मानित समेत गरेको छ ।

सोमबार भर्चुअल रूपमा जोडिएका ६ दर्जन बढी साहित्यकारहरूको उपस्थितिमा भएको प्रतियोगितामा सुमी पोखरेल (उदयपुर) प्रथम, भावना लामिछाने (स्याङ्गजा फेदीखोला, हाल पोखरा) द्वितीय, प्रमोद थापा (दोर्दी–१, लमजुङ्ग) तृतीय र धनसिंह गिरि (घोराही, दाङ) चौथो घोषित भएका थिए ।

सान्त्वनामा आर्य आयुषा (सिन्धुपाल्चोक) र नवराज न्यौपाने ”मौन” (भानु नगरपालिका, वडा नः ५, चुँदी/तनहुँ) रहेका छन् । प्रतियोगिताको संयोजकमा वरिष्ठ गजलकार डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ रहेका थिए । प्रतियोगितामा २२६ गजलहरू प्राप्त भएका थिए । महासङ्घले यसअघि कविता, मुक्तक, लघुकथाका विधाहरूमा प्रतियोगिता गरिसकेको छ ।

Advertisement

त्यसैगरी सम्मानित हुनेहरूमध्ये विनेसाम साहित्यश्री सम्मानबाट राजकुमार राई (अमेरिका), विनेसाम प्रतिभा सम्मानबाट कमला प्रसाई(हङकङ) र विनेसाम साधना सम्मानबाट डम्बर पहाडी ‘एलाक’ (नेपाल) भएका छन् ।

विजेताहरूलाई क्रमशः नगद २५ हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार नेपाली रूपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियोे । विजयी गजलकारहरूले आफ्नो सिर्जना समेत वाचन गरेका थिए ।

महासङ्घ अध्यक्ष सुरेन्द्र लिम्बु ‘परदेशी’ को अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका मुख्य अतिथि कुलपति राईले महासङ्घको काम स्तुत्योग्य भएको बताए । उनले प्रतिष्ठानमा नयाँ टिम आएकोले आफूहरू सबैसँग समन्वय गर्न तयार रहेको जनाए । उनले साहित्यलाई समाजको उत्खनन गर्न प्रयोग गर्नुपर्ने जिकिर गरे ।

महासचिव सुनिता राई कन्दङ्वाले सञ्चालन गरेकी कार्यक्रममा सचिव डा. मन भुर्तेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वरिष्ठ साहित्यकार कृष्ण धरावासी, पूर्व राजदूत ज्ञान उदास, प्राज्ञ मुनराज शेर्मा, प्राज्ञ कविता आले, प्रेम ओझा, देवी पन्थी, डा. गोकुल क्षेत्री, ध्रुव मधुकर्मी लगायत महासङ्घसम्बद्ध साहित्यकारहरूको उपस्थिति रहेको थियोे ।