काठमाडौँ – आइतबार बेलुकीदेखि बदली भएको मौसम आजदेखि सुधार भएको छ । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँबाहेक देशका सबै ठाउँमा आज घाम लाग्ने र मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले काठमाण्डौ उपत्यकाको आकाश धुम्म भए पनि दिउँसो घाम लाग्ने मौसमविदले बताएका छन् । महाशाखाका मौसमविदका अनुसार बाँकी ठाउँमा पनि बेलुकीदेखि आकाश खुल्नेछ । आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।