November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

साहित्यकार तथा दर्शनशास्त्री प्रा. जगत उपाध्याय ‘प्रेक्षित’ को निबन्धसंग्रह ‘समय र जीवन’ विमोचित

8K

काठमाडौं । साहित्यकार तथा दर्शनशास्त्री प्रा. जगत उपाध्याय ‘प्रेक्षित’ को निबन्धसंग्रह ‘समय र जीवन’ विमोचित भएको छ । मंगलबार पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रम समारोहबीच संग्रह विमोचित भएको हो ।

मध्यपश्चिमान्चल साहित्य परिषद, काठमाडौंको आयोजनामा सम्पन्न लोकार्पण तथा विमर्श कार्यक्रमलाई कार्यक्रमका प्रमुख व्यक्तित्वहरू नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् वैरागी काइँला, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा भाषाविद् गङ्गाप्रसाद उप्रेती, नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति, वरिष्ठ दर्शनशास्त्री तथा साहित्यकार प्रा. शिवहरि मरहट्टाज्यू र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङज्यूले समुद्घाटन र कृतिको लोकार्पण गरेका थिए ।

लोकार्पित पुस्तकबारे बोल्दै नेपाल प्रज्ञा प्रतिस्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले यश कृतिले उपाध्यायलाई नयाँ पहिचान दिएको बताए । ’वहाँ नेपाली वर्तमान साहित्यको शसक्त समालोचना गर्ने व्यक्तित्वको रुपमा चिनिदै आउनुभएको थियो । अब वहाँले निबन्धकारको पहिचान प्राप्त गर्नुभएको छ ।’, उप्रेतीले भने ।

Advertisement

उप्रेतीले जगत उपाध्यायमा असल निबन्धकारको सिप भएको बताए । ‘व्यक्तिले आफ्नो क्षमता, बुद्धिले भ्याए अनुसारको पहिचान खोज्छ, हामी पनि त्यो क्यानभासमा छौं । त्यो क्यानभासमा रहेर वहाँले लेख्नुभएको छ । वहाँको सकारात्मक सोच र लेखन विशेषतालाई हेर्दा वहाँमा असल निबन्धकारको सीप छ ।’

यसैगरी पुस्तकबारे बोल्दै पुर्व कुलपति तथा वरिष्ठ कवि काइँलाले उपाध्यायाद्धारा लिखित निबन्धसंग्रहमा समाज लेखिएको बताए । ‘मेरो विचारमा समाजमा मनपर्ने र नपर्ने धेरै कुराहरु हुन्छन् । त्यसलाई वहाँले एउटा लेखकको रुपमा व्यक्त गर्नुभएको छ । अहिले समाजमा चाहिएको सद्भाव हो । त्यो जगतजीको निबन्धमा छन् ।’, काइँलाले भने ।

उपाध्यायले आफ्नो ५५ औं जन्मोत्सवको अवसरमा कृति सार्वजनिक गरेको बताए । ‘मैले विभिन्न समयमा लेखेका निजात्मक निबन्धहरूको सँगालो ’समय र जीवन’ नामक निबन्धसङ्ग्रह आज जन्मदिनकै अवसर पारेर लोकार्पण गरेको छु ।’, उनले भने ।

भाषा आयोगका सदस्य उषा हमालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समालोचकद्वय सहप्राध्यापक डा. नारायण चालिसे र उपप्राध्यापक डा. बिन्दु शर्माले लोकार्पित कृतिमाथि समीक्षा गरेका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद्का पूर्व पदाधिकारी, वर्तमान पदाधिकारी तथा मध्यपश्चिमाञ्चल साहित्य परिषद्का पूर्व अध्यक्ष डा. मधुसूदन गिरी, भाषा आयोगका सदस्यहरू, विभिन्न सङ्घसंस्थाका प्रमुखहरू, पूर्व प्रमुखहरू, लेखक/साहित्यकारहरू, कानून, शिक्षा तथा प्रशासन क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन हिमालय टेलिभिजन र थाहा रेडियोमा कार्यरत पत्रकार रवीन्द्र सुवेदीले संचालन गरेका थिए ।