काठमाडौं । माओवादी घटकहरुले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । सम्मेलन दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा आयोजना हुने जनाइएको छ ।
माओवादी घटकहरुले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका छन् । द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि एकजुट भएका उनीहरुको फागुन २६ गते बसेको बैठकले २८ गते संयुक्त पत्रकार सम्मेलन र ३० गते अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो । त्यसअघि फागुन २३ गते बसेको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्ने भन्दै पत्रकार सम्मेलन गर्न लागिएको हो ।
अन्तरक्रियामा माओवादी घटकका नेताहरुका साथै नागरिक समाज, कानून व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवाला सहभागी हुने छ ।