विराटनगर। सहप्राध्यापक तथा जनसंख्यावीद बालकृष्ण माबुहाङले शिक्षा ज्ञानको आधार भएको बताए । शुक्रबारदेखि झापामा सुरु भएको ‘याक्थुङ ज्ञान महोत्सव–२०७९’ कार्यक्रममा ‘उच्च शिक्षामा लिम्बु समुदाय’ बिषयमाथी बोल्दै माबुहाङले मान्छेसँग भएको ज्ञानको आधार शिक्षा रहेको बताएका हुन् ।
माबुहाङले भने, ‘सेन्चुरी डिक्शनरीले हामीसँग जति पनि ज्ञान छ, त्यसको आधार शिक्षा मान्छ । शिक्षाले मानसिक र नैतिक प्रशिक्षणको कुरा गर्छ । यद्यपि विद्यालयमा पढ्ने, विश्वविद्यालयबाट मास्टर्स डिग्री, पिएचडी गर्ने प्रोफेसरहरू मात्रै शिक्षाका धोतकहरू हुन्, शिक्षा उपभोक्त गर्ने तत्वहरू हुन् भन्न खोजेको हैन । जुनसुकै क्षेत्रमा होस्, शिक्षा मानवीय ज्ञानको आधार हो । जसले गर्दा हामी मानसिक रुपमा प्रशिक्षित र नैतिक रुपमा सफल हुन्छौं ।
माबुहाङले शिक्षाले मनको कुरा गर्ने बताए । शिक्षाको माध्यमले मन चलखेल गर्न थाल्ने उनको भनाइ थियो । ‘ज्ञानको आधार बढेपछि मनले चलखेल गर्न थाल्छ । मनले आफ्नो आवश्यकताहरू निर्माण र पूर्तिका निम्ति चलखेल गर्छ ।’, माबुहाङले भने ।
याक्थुङ युवा मञ्च, केन्द्रीय कार्यसमितिको आयोजना तथा याक्थुङ युवा मञ्च, जिल्ला कार्यसमिति झापाको व्यवस्थापनमा फागुन हिजोदेखि झापाको झिलझिलेमा ज्ञान महोत्वस भइरहेको छ । ‘बौद्धिक ज्ञान आदान–प्रदान र पुस्तान्तरणको लागि’ भन्ने नारासहित झापा शिवसताक्षी नगरपालिका–८, झिलझिलेस्थित वाटर किङ्डम एण्ड रिसोर्टमा भइरहेको महोत्सव आज सम्पन्न हुनेछ ।
कार्यक्रममा सहप्राध्यापक तथा जनसंख्याविद बालकृष्ण माबुहाङद्धारा लिखित पुस्तक ‘इःमानु निःमा’ को स्टल पनि राखिएको छ ।
कार्यक्रमको उद्धघाटन किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले गरेका थिए ।
कार्यक्रमको पहिलो दिनको पहिलो सत्रमा बालकृष्ण माबुहाङले उच्च शिक्षामा लिम्बु समुदाय बिसयमा प्रवचन दिएका थिए भने मुन्धुमवीद तथा अध्येता डिबी आम्बुङको अध्यक्षता रहेको दोस्रो सत्रमा याक्थुङ मुन्धुम र लिम्बुवान भूमि तथा थात्थलो विषयमा डा कमल तिगेला, राम मादेन र प्राज्ञ दिलेन्द्र कुरुम्बाङले कार्यपत्र प्रस्तुत गरेका थिए ।
यस्तै, तेस्रो सत्रमा प्राज्ञ दिलेन्द्र कुरुम्बाङको अध्यक्षतामा मधु केरुङ र बिक्रम फागोले याक्थुङ संस्कृति र सौंन्दर्य विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने चौथो सत्रमा सहप्राध्यापक बालकृष्ण माबुहाङको अध्यक्षतामा टंकमाया तिगेला र सिक्किमकि सन्ध्या सुब्बाले लिम्बु महिलाको सहभागिता विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी कार्यक्रमको पाँचौ सत्रमा मुन्धुम मन्थन प्यानल डिस्कसन कार्यक्रम राखिएको थियो । उक्त डिस्कसनको प्रस्तोता जितेन पन्धाक रहेका थिए भने वक्ताहरू पदम चेन्जी मावो, हरि हुक्पा चोङनाङ र डिबी आम्बुङ रहेका थिए ।
याक्थुङ गीतसंगीत र चलचित्र, याक्थुङ भााषा, लिपि, लिम्बुवान आन्दोलन, याक्थुङ लाजे र इतिहास, याक्थुङ मुन्धुम र जीवनदर्शन लगायतको विषयमा वक्ताहरुको प्रस्तुति रहेको छ भने लिम्बुवान आन्दोलन बारे प्यानल डिस्कसन पनि हुनेछ ।
आज ११:३० बाट सुरु हुने भनिएको दोस्रो दिनको पहिलो सत्रमा याक्थुङ गीतसंगीत र चलचित्र विषयमा सागर केरुङले कार्यपत्र प्रस्तुत गर्नेछन् भने दोस्रो सत्रमा डा बिएल खाम्दाकको अध्यक्षतामा प्राज्ञ हरिचन्द्र लावती र आसबहादुर मुरिङ्लाले याक्थुङ भाषा लिपिमाथि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी तेस्रो सत्रमा प्यानल छलफल रहेको छ । लिम्बुवान आन्दोलन विषायक उक्त छलफलको प्रस्तुतकर्ता राम मादेन रहनेछन् । छलफलका वक्ताहरू कुमार लिङदेन, खगेन्द्र माखिम, भवानी बराल, नन्द कन्दङ्वा रहनेछन् ।
यसैगरी चौथो सत्रमा आसबहादुर मुरिङ्लाको अध्यक्षतामा नन्द कन्दङ्वा र अर्जुन माबुहाङले याक्थुङ लाजे र इतिहास बारे कार्यपत्र प्रस्तुत गर्नेछन् । पाँचौ सत्रमा याक्थुङ मुन्धुम र जीवनदर्शनबारे डा बिएल खाम्दाक र डिबी आम्बुङले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
यश दुईदिने महोत्सवको उदेश्य समाजको विविध पक्षको ज्ञानहरु युवा पुस्तामा पुस्तान्तरण गर्न प्रयास र अभ्यास गर्नु, साझा विषयमा छलफल, बहस प्रस्तुती र दस्तावेशिकरण गर्नु, विश्वव्यापी रूपमा रहेको लिम्बू समाज बारे साधन, स्रोत, ज्ञान, सूचना र अनुभवहरु आदान–प्रदान गर्दै युवा पुस्तालाई प्रोत्साहित गर्ने प्रयत्न गर्नु, सामाजिक, जार्थिक, राजनीतिक विषयवस्तुमा समिक्षा, वैचारिक सत्यन गर्ने र युवा पुस्तामा जागरण सिर्जना गर्नु रहेको आयोजकले जनाएको छ ।
यस कार्यक्रमले युवा पुस्तामा जागरण सिर्जना हुनुका साथै वैचारिक मन्थन, चिन्तन, जागरुपता सिर्जना हुने आयोजकको विश्वास रहेको छ ।