काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज कतार जाने भएका छन् । दोहामा आयोजना हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन श्रेष्ठ कतार जान लागेका हुन् ।
सम्मेलन आइतबारदेखि मङ्गलबारसम्म हुने उक्त सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद डा. जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारका लागि नेपाली राजदूतलगायतको टोली सहभागी हुनेछ ।
मन्त्री श्रेष्ठले अति कम विकसित मुलुक समूहको शिखर सम्मेलनमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको पूर्ण सत्रलाई उपप्रधानमन्त्री श्रेष्ठले सम्बोधन गर्नेछन् ।
श्रेष्ठको कार्यसूचीमा विभिन्न देश तथा सङ्घसंस्थाका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्ने पनि रहेको छ ।