कुवेत । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत सरकारका पर्यटन क्षेत्रका सहायक उपसचिव एचई साउद एच.अल खाल्दीबीच भेटवार्ता भएको छ । भेटमा नेपाल र कुवेतबीच भएको भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको छ ।
उक्त शिष्टाचार भेटमा राजदुत भण्डारीले नेपालको पर्यटकीय महत्वका स्थान, उत्पादनहरू, पर्यटकका लागि साहसिक एवं मनोरञ्जनात्मक क्रियाकलाप नेपालको प्राकृतिक, सामाजिक र सांस्कृतिक विविधता र विविधता बीचको एकता, पर्यटकको लागि सुरक्षा व्यवस्था, सहज भिजा प्रणाली, पर्यटकको चाहना बमोजिमका बासस्थानहरू, कुवेतदेखि नेपालसम्मको प्रत्यक्ष एवं सहज हवाई सम्पर्कको व्यवस्था आदिबारे उनलाई अवगत गराएका थिए । उनले आगामी दिनमा कुवेतवासीहरूका लागि नेपाल एक उपयुक्त एवं आकर्षक गन्तव्य हुने सम्बन्धमा पनि जानकारी गराएका थिए ।
कुराकानीको क्रममा खाल्दीले स्थानीय नागरिकहरूलाई नेपाल भ्रमण गर्न, बजार प्रवर्द्धन गर्न र समन्वय गर्न आफू लगायत कुवेत सरकारको सम्बन्धित निकायबाट निरन्तर सहयोग रहने आश्वासन दिए । उनले नेपाल एक सुन्दर मुलुक भएकोले कुवेती पर्यटकका लागि आकर्षक गन्तव्य हुने विश्वास व्यक्त गरे ।
उक्त भेटवार्तामा कुवेत सरकारका पर्यटन अनुसन्धान तथा सूचना विभागका निर्देशक डा. ओसामा एच.अल मेख्याल र नेपाली राजदूतावास, कुवेतका अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।