काठमाडौं । झापामा याक्थुङ ज्ञान महोत्सव–२०७९ आयोजना हुने भएको छ । याक्थुङ युवा मञ्च, केन्द्रीय कार्यसमितिको आयोजना तथा याक्थुङ युवा मञ्च, जिल्ला कार्यसमिति झापाको व्यवस्थापनमा फागुन १९ र २० गते ज्ञान महोत्वस हुन लागेको हो ।
‘बौद्धिक ज्ञान आदान–प्रदान र पुस्तान्तरणको लागि’ भन्ने नारासहित झापा शिवसताक्षी नगरपालिका–८, झिलझिलेस्थित वाटर किङ्डम एण्ड रिसोर्टमा महोत्सव आयोजना हुन लागेको मञ्चकी अध्यक्ष प्रज्ञा इजमले जानकारी दिइन् ।
कार्यक्रमको समय अवधि विहान १० बजेदेखि बेलुका ५ बजेसम्म रहेको छ । कार्यक्रममा सहप्राध्यापक तथा जनसंख्याविद बालकृष्ण माबुहाङद्धारा लिखित पुस्तक ‘इःमानु निःमा’ को पनि स्टल राखिने जनाइएको छ ।
कार्यक्रमको उद्धघाटनसत्रमा प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा उच्च शिक्षामा लिम्बु समुदाय, याक्थुङ संस्कृति र सौंन्दर्य, लिम्बु महिलाको सहभागिता, मुन्धुम मन्थन, याक्थुङ गीतसंगीत र चलचित्र, याक्थुङ भााषा, लिपि, लिम्बुवान आन्दोलन, याक्थुङ लाजे र इतिहास, याक्थुङ मुन्धुम र जीवनदर्शन लगायतको विषयमा वक्ताहरुको प्रस्तुति रहेको छ भने लिम्बुवान आन्दोलन बारे प्यानल डिस्कसन पनि हुनेछ ।
समाजको विविध पक्षको ज्ञानहरु युवा पुस्तामा पुस्तान्तरण गर्न प्रयास र अभ्यास गर्नु, साझा विषयमा छलफल, बहस प्रस्तुती र दस्तावेशिकरण गर्नु, विश्वव्यापी रूपमा रहेको लिम्बू समाज बारे साधन, स्रोत, ज्ञान, सूचना र अनुभवहरु आदान–प्रदान गर्दै युवा पुस्तालाई प्रोत्साहित गर्ने प्रयत्न गर्नु, सामाजिक, जार्थिक, राजनीतिक विषयवस्तुमा समिक्षा, वैचारिक सत्यन गर्ने र युवा पुस्तामा जागरण सिर्जना गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
यस कार्यक्रमले युवा पुस्तामा जागरण सिर्जना हुनुका साथै वैचारिक मन्थन, चिन्तन, जागरुपता सिर्जना हुने आयोजकको विश्वास रहेको छ ।