काठमाडौं । संगीत तथा चलचित्रकर्मी यसकुमारको गीत ‘गल्ली’ सार्वजनिक भएको छ । बिहीबार दरबार मार्गस्थित राइजिङ मलमा एक कार्यक्रमको आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो ।
महानायक राजेश हमालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रकाश सुवेदी, जिम्मी लामा, रन्जित तामाङ लगायत अतिथिका रुपमा उपस्थित थिए ।
म्युजिक भिडियो ‘गल्ली’ बारे बोल्दै प्रमुख अतिथि राजेश हमालले भावना डुबेर कलाकारिता पस्किनु नै यसकुमारको सफलता रहेको बताए । ‘यसकुमारलाई भावनामा डुबेर, महसुस गरेर त्यसलाई आत्मसाथ गरि मनदेखि कलाकारिता पस्किने व्यक्तित्वको रुपमा हेर्छु । वहाँको कला ग्रहण गर्नेने पनि त्यसलाई मनले हेर्छ र सोच्छ, त्यो वहाँको सफलता हो ।’, हमालले भने ।
यस्तै, भिडियोको चर्चा गर्दै पत्रकार प्रकाश सुवेदीले यसअघि यसकुमारको थुप्रै गीतहरु सफल भएको स्मरण गराउदै यस गीतले पनि इतिहास दोहो¥याउनुपर्ने बताए । उनको गीतको चर्चाको प्रसंगमा सुवेदीले भने, ‘एकदिन हामी पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीकोमा गएका थियौं, वहाँले यसजीलाई “अब तपाइँले छोएको पानी मात्र हैन, खाना पनि चल्छ ।” भन्नुभयो । एउटा पूर्व प्रधानमन्त्रीले वहाँको चिनारी प्रस्तुत गर्नुभयो । यस भाइको “मैले छोएको पानी चल्दैन” बच्चादेखि बृद्धासम्मकाले चिन्छन् । यो गीतले त्यो इतिहास दोहोर्याओस् ।’
त्यसैगरी भिडियोबारे बोल्दै यसकुमारले यसमा सबैको टिमको उत्तिकै मिहिनेत र सहयोग रहेको हुँदा राम्रो बनेको र दर्शक तथा स्रोताको मनमा बस्न सक्ने बताए ।
यसकुमार र मेचु धिमालको स्वर रहेको यस गीतको शब्द तथा संगीत पनि यसकुमारकै रहेको छ । संगीत संयोजन र मिक्सिङ भने देवेश राईको रहेको छ ।
यसकुमार र रेश्मा घिमिरेको मुख्य भूमिका रहेको यस भिडियोलाई अहिलेका चर्चित निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । सहायक भूमिकामा रमेश खड्का र सुष्मा मल्लले साथ दिएका छन् । भिडियोको सम्पादन विकाश धमलाले गरेका हुन् ।
भिडियो सार्वजनिक अघि बोल्दै निदेर्शक खड्काले यसकुमारसँगको यो तेस्रो सहकार्य रहेको बताए । यसअघिको सहकार्यमा राम्रै सफलता पाएको बताउदै उनले यसबाट पनि आशावादी रहेको बताए ।
करिब दुई दशकअघि सांगीतिक यात्रा सुरु गरेका यसकुमारको थुप्रै गीतहरु बहुचर्चित छन् । उनले गीतबाटै जातीय विभेद, असमानताविरुद्ध शालिन विद्रोह गरेका थिए । पछिल्लो समय पनि उनका गीतहरु करोड क्लबमा प्रवेश गर्ने गरेका छन् ।