काठमाडौं । बाजुरामा भूकम्पमा परेर एकजनाको मृत्यु भएको छ । मंगलबार गएको भुकम्पमा परि गौमुल गाउँपालिका–२ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको मृत्यु भएको हो ।
रोकायाको भूकम्पले जमिन हल्लेर ढुंगाले लाग्दा घटनास्थलमै मृत्यु भएको हो । उनी बारीमा घाँस काट्दै गरेको र त्यही क्रममा भिरालो जमिनमा ढुंगा खसेर लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, गौमुल गाउँपालिका–१ अम्लिसमा भूकम्पले गोठ भत्किँदा सोही ठाउँका भेडा गोठाला रामदत्त रोकाय घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । गोठ भत्किँदा उनका ४० भेडा पुरिएका छन् ।
मंगलबार दिउँसो बाजुराको हिमाली गाउँपालिकाको मैला भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा सुदूरपश्चिमका विभिन्न जिल्लामा भौतिक क्षति भएको छ । बाजुरा, बझाङ, अछामलगायत जिल्लामा केही घर भत्किएका छन् भने दर्जनौं घर चर्किएका छन् । क्षतिको विस्तृत विवरण आउने क्रम रहेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो ।