काठमाडौं । पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका यात्रु तथा चालक दलका सदस्यको शव परीक्षणको प्रक्रिया सुरु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव व्यवस्थापन तथा परीक्षण कार्य सुरु भएको हो।
प्रतिष्ठानका निर्देशक प्राडा भरत बहादुर खत्रीका अनुसार राष्ट्रिय शव परीक्षण समिति गठन भइ परीक्षण तथा व्यवस्थापनको काम अगाडि बढाइएको हो। शवको पहिचान तथा परीक्षणका लागि काठमाडौंबाट समेत २ जना फरेन्सिक विज्ञ पोखरा पुगेका छन्।
शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौँबाट पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पोष्टमार्टमलगायत प्रक्रिया पूरा गरी शव सम्बन्धित परिवारलाई बुझाउने तयारी भइरहेको जानकारी दिए ।
पोष्टमार्टममा लागि गठित विशेषज्ञ टोलीमा काठमाडौँबाट आएका दुई विज्ञ चिकित्सकसहित पोखराका चिकित्सक पनि सम्मिलित छन् ।
दुर्घटनामा निधन भएका ६८ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ९गण्डकी अस्पताल० मा राखिएको छ । एउटा शव पोष्टमार्टम गर्न आधादेखि डेढ घटासम्म समय लाग्ने अस्पतालले जनाएको छ ।
पोष्टमार्टमपछि पोखरा र आसपासका व्यक्तिको शव आफन्तलाई बुझाइने छ भने विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवहरु काठमाडौँस्थित शिक्षण अस्पतालमा पठाइनेछ ।
पोष्टमार्टमपछि शव बुझ्न दिवङ्गतका आफन्तजन अस्पताल परिसरमा जम्मा भएका छन् । दुर्घटनामा परेका तीन जना अझै बेपत्ता छन् । बेपत्ताको खोजी कार्य चलिरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
त्यस्तै यता, राष्ट्रिय विपद्, जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरुलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले विमान दुर्घटनामा परेर निधन भएकाहरुको बीमा पाटोमा कुनै समस्या नरहेको बताए । उनले बैठकमा शवहरुको पोस्टमार्टम कार्यलाई चुस्त बनाउने र चाँडै नै विदेशी शवहरुलाई पनि आफन्तलाई जिम्मा लगाएर पठाउने तयारीका बारेमा छलफल भएको बताए ।
बैठकमा गृह मन्त्रालयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरु र नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखहरू लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।