काठमाडौं । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ब्रिटिश वेलफेयर अस्पतालमा कार्यरत डा. गणेश थापाको पनि निधन भएको छ । बुटवल घर भएका उनी काठमाडौंमा परिवारलाई भेटेर पोखरा फर्किँदै गरेको अवस्थामा दुर्घटनामा परेका हुन् ।
३६ वर्षीय डा थापाले चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस र अस्ट्रेलियाबाट एमपीएच अध्ययन पूरा गरेका थिए । डा. थापा पोखरामा काम गर्नुअघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा समेत काम गरेका थिए ।
दुर्घटनामा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा. सुशील श्रेष्ठ, उनकी पत्नी डा. सोना दिवार र उनीहरुका १० महिने छोराको पनि निधन भएको थियो । श्रेष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् । उनी ६ वर्षदेखि ट्रमा सेन्टरमा काम गर्दै आएका थिए । डाक्टर दम्पत्ती बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउन गएका थिए ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा समेत काम गरेका थिए । उनले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् । डा. सुशीलकी पत्नी डा. दिवारक भने बच्चा जन्मिएपछि काम छाडेर बसेकी थिइन् । उनले चितवन मेडिकल कलेजबाट एमबीबीएस पास गरेकी थिइन् । उनी विशेषज्ञ चिकित्सकका लागि तयारी गरिरहेकी थिइन् ।




