July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

गृहमन्त्रीले हटाए आफ्नो सुरक्षाका लागि हुइँकिने अगुवा–पछुवा गाडी

1.1K

काठमाडौं । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने सुरक्षाकर्मी सहितको अगुवा–पछुवा गाडी हटाएका छन् ।

लामिछानेले शुक्रबारबाट अगाडी एउटा मात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका छन् । ‘भै परि आउँदाको परिस्थितिलाई अपवाद मानिदिनु होला’, लामिछानेले फेसबुकमा लेखेका छन् ।

नागरिकलाई सुरक्षित महसुस हुने वातावरण निर्माण गर्ने निकाय गृह प्रशासन भएको बताउँदै यसको नेतृत्वमा रहँदा, आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिकको अपेक्षा पुरा नहुने लामिछानेले बताएका छन् । ‘म मेरो भन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न यो जिम्मेवारीमा आएको हुँ, म आफूले बोलेका कुरा इमानदारिताका साथ पुरा गर्नेछु’, उनले लेखेका छन् ।

Advertisement

आफ्नो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरीक्षकको नेतृत्व सुरक्षाकर्मी राखेको पनि उनले जानकारी दिएका छन् ।

यात्राको क्रममा सडक नियमको पूर्ण पालना सबैले गर्नुपर्छ भनेर नियम लागु गराउने निकायको नेतृत्व गर्ने मन्त्री भएकोले ट्राफिक बत्तीमा लाइन बसेर नै यात्रा गर्ने उनले बताएका छन् । साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृत्तिको आफू आलोचक भएको उनले प्रष्ट पारेका छन् । त्यसैले आकस्मिक अवस्थामा बाहेक त्यस्तो गतिविधि नहुने उल्लेख गरेका छन् ।