February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

कुख्यात अन्तर्राष्ट्रिय अपराधी शोभराजलाई रिहा गर्न सर्बोच्चको आदेश

2K

काठमाडौं । हत्या आरोपमा जेल सजाय भोगिरहेका चार्ल्स शोभराज देशमुख रिहा हुने भएका छन् । सर्वोच्च अदालतले विकिनी किलरका नामले कुख्यात अन्तर्राष्ट्रिय अपराधी शोभराजलाई रिहा गर्न आदेश दिएको हो।

शोभराजले १९ वर्ष आफू कैदमा बसिसकेको र उमेर ७८ वर्ष भइसकेको भन्दै रिहा गर्न भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । सोही निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधबारै रिहा गर्न आदेश दिएको हो ।

फ्रान्सका नागरिक शोभराजलाई थुनामुक्त गरी १५ दिनभित्र आफ्नो देश फर्काउन सर्वोच्चले आदेश दिएको छ । उनीमाथि विश्वका विभिन्न देशमा हत्या र लागूऔषध तस्करीको अभियोग लागेको थियो ।

Advertisement

हाल भियतनाममा रहेको र तत्कालीन फ्रान्सको साइगोनमा ६ अप्रिल सन् १९४४ मा शोभराज जन्मिएका हुन् । उनका पिता भारतीय मूलका र आमा भियतनामी हुन् । शोभराज किशोरावस्थाबाट नै चोरी र लुटपाटमा संलग्न भएका थिए । सन् १९६३ मा पेरिसमा चोरीको अभियोगमा पक्राऊ परे । जेलमा उनको ठूला अपराधीसँग भेट भयो । त्यसपछि उनी पेरिसको संभ्रान्त देखि अन्डरवल्डसम्मको संगतमा परे ।

उनी विवाह तय गरेर एउटा अपराध कार्यमा पक्राउ परे । कार चोरीको अभियोगमा पक्राउ परेका उनी आठ महिना जेल बसेर छुटे । त्यसपछि विवाह गरे । पत्नी गर्भवती थिइन् । उनी भने अपराधको दुनियाँमा व्यस्त रहे । तर, विभिन्न अपराधमा खोजीको सूचीमा परेपछि नक्कली कागजपत्रसहित एशियातर्फ भागे । उनी पर्यटकहरुलाई लुट्थे । कतिपय घटनामा हत्या पनि गर्थे ।

शोभराज जुवाडे थिए । जुवा खेल्नका लागि पनि उनी ठूला अपराध गर्न थाले । उनी भारत, अफगानिस्तान, ग्रीसलगायतका देशमा चोरी र डकैतीको अभियोगमा पक्राउ परे । तर, हिसासत र जेलबाटै फरार भए । उनी अपराध गर्दा हत्या गरेका वा लुटिएकाको पासपोर्ट दुरुपयोग गर्थे ।

शोभराजले २० भन्दा बढी पर्यटकको हत्या गरेको उल्लेख छ । थाइल्यान्डमा मात्र १४ जनाको हत्या गरेका छन् । उनी भारतमा सन् १९७६ देखि १९९७ सम्म २१ वर्ष जेल परेका थिए । भारतको चर्चित तिहाड जेलमा बस्दा उनले जेल प्रशासनलाई घूस दिएर विलासी जीवन बिताएको चर्चा पनि चल्यो ।

उनी सन् २००३ मा नेपाल आउँदा पक्राऊ परेका थिए । नेपालमा १८ वर्ष जेलजीवन बिताइसकेका शोभराज वृद्धावस्थामा छन् । शोभराजका बारेमा उपन्यास लेखिएका छन् । चलचित्र, नाटक देखि वृत्तचित्रहरु बनेका छन् । भारतमा मे और चाल्स चलचित्र बनेको छ ।

नेपालमा ८ पौष २०३२ सालमा मनहरा खोलानजिकै कोन्नी जो ब्रोन्जीचको हत्या गरेको पुष्टि भएको थियो । धारिलो हतियार प्रहार गरी हत्यापछि लासलाई नचिनिने गरी जलाई फालेका थिए ।

काठमाडौंमा बस्दा शोभराज हेनरिकस विन्टाँजा नामले बसेका थिए । घटनामा अजय चौधरी नामका भारतीय नागरिक समेत संलग्न देखिएकाले उनको सुपुर्दगीको प्रयास भएको थियो ।

लरेन्ट आरमण्डलाई पनि शोभराजले हत्या गरेको पुष्टि भएको थियो । उनीहरुले विभिन्न देशमा हत्या गरेको बयानबारे भारतीय मिडियाले समेत लेखेको थियो ।

२८ साउन २०६१ मा काठमाडौं जिल्ला अदालतले शोभराजलाई हत्याको ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । २० साउन २०६२ मा पुनरावेदन अदालत पाटनले जिल्ला अदालतको फैसला सदर गरेको थियो । १४ साउन २०६७ मा सर्वोच्च अदालतले शोभराजको मुद्दामा विगतका फैसलाहरुलाई नै सदर गर्ने फैसला सुनाएको थियो ।